नक्कली शरणार्थी बनाउनेहरुले कसरी कुरा फेरे ? (भाग २)

नक्कली शरणार्थी बनाउनेहरुले कसरी कुरा फेरे ? (भाग २)

आरोपितहरुमध्ये सागर राई भन्छन् : ‘जाहरेवालाहरुमध्ये कुमार खड्काबाट मैले जग्गाको कारोवार ११ लाख लिएको हो । मैले सापटी लिएको उक्त रकम नगदै निजलाई फिर्ता गरी सकेको छु । निज वाहेक प्रदीप फुयाँलसँग मैले कुनै रकम लिएको छैन ।’

प्रहरीसँगको बयानमा उनले मिलन श्रेष्ठसँग आफ्नो चिनजान र सम्पर्क समेत नभएकाले निजबाट कुनै रकम नलिएको दाबी गरेका छन् । अगाडि भन्छन्, ‘जाहेरी रकम जम्मा गर्न लगाएको छैन । जाहेरवाला रविन्द्र कार्कीले के–कसरी आशिष बुढाथोकी र मोहन राईको नाममा मैले रकम लिएको भने । आशिष बुढाथोकी र मोहन राईलाई मैले चिनेको छैन । उनीहरुको खातामा रकम जम्मा गर्न लगाएकोबारे पनि मलाई थाहा छैन । रविन्द्र कार्की सँगबाट मैले सापटी स्वरुप रकम लिएको हुँ ।’

तर शर्मा र लम्सालसँग आफ्नो कुनै चिनजान सम्पर्क नभएको उनले ठोकुवा गरे । चिनजान र सम्पर्क नै नभएको व्यक्तिसँग काठमाडौंमा होटलका २० वटा कोठा लिएको नलिएको लिने कुनै कुरा नभएको उनको बयानमा उल्लेख छ । 

‘जाहेरवालाको फारम भराएर मैले कुनै रकम लिएको छैन । जाहेरवालाले दाबी गरेको अरुण रेग्मी भन्ने व्यक्तिसँग समेत मेरो कुनै चिनजान सम्पर्क छैन । चिनजान सम्पर्क नै नभएको व्यक्तिलाई इन्भेष्टमेन्ट बैंकमा रकम तीन लाख जम्मा गरिदिने कुरो भएन । जाहेरवालाहरूले जम्मा गरेको एक करोड १९ लाख ५० हजार रुपैयाँ भेषराज शर्मा लम्साल र प्रेमराज पन्थीले बैंक खाता मार्फत् सानु भण्डारीको खातामा जम्मा गरेको सम्बन्धमा मलाई केही थाहा छैन,’ उनको इन्कारी बयानमा उल्लेख छ ।

भेषराजले सानुको खातामा जम्मा गरेको अन्य रकमबारे पनि जानकारी नभएको राईको भनाइ छ । टेकनाथ रिजालले दस्तखत गरेको भुटानी शरणार्थीहरूको कार्डको विषयमा उनले थाहा छैन भनेका हुन् । आफूले मन्त्री र सचिवको नाम लिएर बायोमेट्रिक गर्नुपर्ने र त्यसको निम्ति १० लाख लिएर ठगी नगरेको उनले बयानको क्रममा उल्लेख गरेका छन् ।

उनले भने, ‘म स्वयम् इन्द्रजित राईले भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिन्छु भनी रकम लिएर ठगिएको पीडित हुँ । मेरो रकम फिर्ता गराई न्याय दिलाई पाउँ । पूर्वगृहमन्त्री र पूर्वगृहसचिव टेकनारायण पाण्डे हाम्रा मान्छे हुन भनी जाहेरवालासँग कुनै कुरा गरेको छैन । उनीहरुसँग कुनै रकम नलिएको हुँदा रकम फिर्ता गर्ने कुरा भएकै छैन । जाहेरवालाले दाबी गरेको कुरा कपोकल्पित र झुट्टा हो ।’ 

आफूले गृहसचिव पाण्डेकोमा कसैलाई पनि लिएर नगएको, गृह सचिवलाई कुनै रकम नदिएको उनको व्यहोरा पनि प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा छ । ‘जाहेरवालाले दाबी गरेअनुसार गत भदौ २९ गते मोरङको सुन्दर हरैंचा नगरपालिका ४ स्थित गोकर्ण रिसोर्टमा म गएको छैन । जाहेरवालाले २२÷२३ जनाको बायोमेट्रिक गराएको भन्ने कुरा कपोकल्पित र झुठो हो । मैले कसैको बायोमेट्रिक गराएको छैन । प्रेमराज पन्थी समेतसँग मैले ३६ लाख ६० हजार नगद लिएको छैन । पन्थीले मलाई यो मुद्दामा चरित्रहत्या र फसाउने षड्यन्त्र गरेर जाहेरी दिएका हुन् यसमा कुनै सत्यता छैन ।’

उनले आफू स्वयम् पीडित रहेको प्रहरीसमक्ष बताएका छन् । राईले अगाडि भने, ‘रामबहादुर थापा बादल, प्रेमकुमार राई, इन्द्रजित राई, राजेश बज्राचार्य, प्रतिक थापा, सन्देश शर्मा, डा. अजय क्रान्ती शाक्य, राजेश्वर बज्रचार्यसमेतले भुटानी शरणार्थी बनाई अमेरीका पठाई दिन्छु भनी रकम लिई म आफैँ ठगिएको पीडित व्यक्ति हुँ । अरु कसैसँग कुनै रकम लिएको छैन । हिरासतमा रहेको अवस्थामा मैले आङ टावा शेर्पालाई भेटेको छैन ।’

यो पनि...

1. नक्कली शरणार्थी बनाउनेहरुले कसरी कुरा फेरे ?

टिप्पणीहरू