रविकी नयाँ माननीयको शपथ आज कि भोलि ?

रविकी नयाँ माननीयको शपथ आज कि भोलि ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठको पदच्यूतपछि रिक्त सांसदमा विन्दावासिनी कंसाकार नियुक्त भइसकेकी छन् । यसबीचमा सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशका कारण ढाकाकुमारमाथि गरिएको पार्टी कारवाही स्थगित भएको थियो ।

तर गत साता उक्त अल्पकालीन अन्तरिम आदेश खारेज भएपछि रिक्त भएको पदमा यसअघि नै नियुक्त कंसाकारको शपथ कहिले गर्ने भन्ने विषय महत्वपूर्ण बनेको छ । आज अपरान्ह संसदको दुबै सदनमा अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्दै हुनुहुन्छ । सोही बैठकमा सहभागी गराउन रास्वपाले कंसाकारको शपथको निम्ति पहल गरेको हो ।

उसले सभामुख देवराज घिमिरेबाट शपथ खुवाएर बजेट भाषणमा  सामेल गराउने भने पनि सभामुखको व्यस्तताको कारण भोलि शपथ गराउने सम्भावना पनि उत्तिकै भएको बताइन्छ । ‘टुंगो लाग्न बाँकी छ । बजेट भाषण आजै अपरान्ह ४ बजे दुवै सदनको संयुक्त बैठकमा हुने भएकाले सबै व्यस्त छौं,’ संसद सचिवालय स्रोतले भन्यो ।

उता पार्टीबाट निश्कासित ढाकाकुमार भने तनावै तनावमा देखिन्छन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडियो टेप बाहिरिएपछि रास्वपाले छानबिन गरेर उनलाई हटाएको थियो । 

उक्त तनाव भोगिरहेका श्रेष्ठलाई बिहीबार रातिदेखि अर्को तनाव थपिएको हो । समानुपातिक सांसद बन्दा पौने दुई करोड रुपैयाँ पार्टीका नेताहरूलाई नबुझाएको स्पष्टीकरण दिनैपर्ने चौतर्फी दबाबपछि ढाकाकुमार छटपटिएका थिए ।

पार्टी उपसभापति डीपी अर्याल र महामन्त्री मुकुल ढकालले मानहानीको मुद्दा बोकेर अदालत जाने र २ करोड ८४ लाख बराबर नै क्षतिपूर्तिको माग दाबी गर्ने चेतावनी दिएपछि उनी चुपचाप बसे । सोहीबीचमा बिहीबार राति ढाकाकुमारको नाममा मध्यरातमा एउटा हातले लेखेको र अर्को कम्प्युटर प्रिण्टेड स्पष्टिकरण सार्वजनिक भएको हो ।

 

टिप्पणीहरू