तीन ठाउँका श्रीमान हेरफेर
आज बसेको न्यायपरिषद् बैठकले उच्च अदालतका न्यायाधीशहरुको सरुवा गरेको छ । परिषदको बैठक छोटो समयका लागि बसेको थियो । ‘कानुनमन्त्री धनराज गुरुङ्गले टाइम मागेपछि बैठक छोट्याइएको हो । त्यसैले तीन जना न्यायाधीशको सरुवाको निर्णयपछि बैठक सकियो,’ परिषद् स्रोतले बतायो ।
बैठकले मुख्य न्यायाधीश खाली रहेको उच्च अदालत धनकुटा इजलासमा विराटनगरका न्यायाधीश रामबहादुर थापालाई सरुवा गरेर मुख्य न्यायाधीशको जिम्मेवारी दिने निर्णय गरेको छ । विराटनगरको न्यायाधीशमा भने उच्च अदालत पाटनबाट विपुल न्यौपानेलाई लगिएको छ । यस्तै न्यायाधीश सारङ्गा सुवेदीलाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जबाट जनकपुर लगिएको छ ।
लामो समयदेखि कारवाहीको प्रक्रियामा रहेका न्यायाधीशबारे आजको बैठकमा कुनै निर्णय नभएको स्रोतको दाबी छ । कानुनमन्त्रीले समय दिएको भए आज उच्च अदालतमा रिक्त ४३ जना न्यायाधीश नियुक्तिको तयारीमा परिषद् थियो । तर, मन्त्रीले केही समय मागेपछि उक्त एजेण्डा अर्को बैठकसम्म सरेको छ । २७ जना न्यायाधीश खाली रहेको अवस्थामा थालिएको नियुक्तिको पहल त्यत्तिकै रहँदा आजसम्म ४३ पद खालि भएको छ ।
यता, कारवाहीको प्रक्रियामा रहेका भनिएका ज्यान मुद्दाका सवारी चालक छाड्ने सिरहा जिल्ला अदालतका न्यायाधीश बारे फरक फरक धारणा बाहिर आएका छन् । फैसला डरलाग्दो देखिए पनि वकिलको मागदाबीबमोजिम नगरिएकाले हल्ला बढी भएको परिषद् सदस्यहरुको बुझाइ छ । तर ती न्यायाधीश बुटवल बस्दाको बदमासीबारे धेरैजसो कुरो बाहिर आएकाले उहाँहरुकै बुझाई फरक रहेको स्रोत बताउँछ ।
परिषद्का एक जना सदस्यले भने, ‘एउटा काुननी कुरामा धारणा नमिल्दैमा कोही पनि खराब भन्न हुँदैन । भलै ती व्यक्ति कतिपय विषयमा आफ्नै टाइपको भएकाले अरुले कुरा काटेका हुन सक्छन् ।’
टिप्पणीहरू