घण्टीघरका घामडहरूको बेसुरा घुर्क्याईं

घण्टीघरका घामडहरूको बेसुरा घुर्क्याईं

– जीवन श्रेष्ठ

अन्ततः नेपाली राजनीतिमा जुन जोगी आए पनि कानै चिरेको भन्ने उखान पछिल्लोपटक रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि चरितार्थ गरेको छ । छोटो समयमै ठूलो सफलता हात पार्न सफल यो पार्टीको काम–कारबाही भने पुरानै पार्टीहरूको ढर्राजस्तै उही नाम्लो र उही कुम्लो भएको छ । उसको पछिल्लो क्रियाकलापले त्यो पुष्टि गर्दै आएका छ । 

अमेरिकी नागरिकता त्याग गरेको भन्दै आएको सभापति लामिछानेलाई नेपाली नागरिकता पुन लिनुपर्ने सुझाव विभिन्न क्षेत्रबाट दिएका पनि थिए । तर मैमत्ता साँढेझैं देखिएका लामिछाने कसले के नाप्न सक्छ र भनेर गजधम्म फुलेर बसे । नाप्न त अरुले के नाप्नै नै सक्थे र ? तर सर्वोच्च अदालतले राम्रोसँग नापेर अनागरिक भएको लालपुर्जा दिँदै संसद पद खारेजीको कित्ताकाट पनि गरिदियो । 

कित्ताकाटबाट अनागरिक बनेका लामिछानेले सर्वोच्चको फैसलापछि आफूलाई अनागरिक मात्र भनेनन् प्रतिष्ठित पत्रकारहरूको उछित्तो नै काढे । जुन अस्वभनीय, असान्दर्भिक मात्र थिएन एउटा जिम्मेवार व्यक्तिको गैरजिम्मेवारपूर्ण हर्कत, असंवेदनशीलताको पराकाष्ठा, लाञ्छनाको लिंगेपिङ र कुण्ठाको कुन्यु नै थियो । नेपाली नागरिकतालाई कागजको चिर्कटो मात्र ठान्ने मुर्कुटोहरूको लाममा आफूलाई उभ्याएका लामिछानेको त्यो भूलबाट दोस्रोपटक चुनाव गराउँदा राज्यको ढुकुटी स्वाहा मात्र भएन चितवनबासीले हनाहकमा दुःख पनि पाए ।

एउटा जिम्मेवार प्राणी भएपछि सुझबुझलाई जानेरै बुझपचाउने काम त पुराना दलका नेताहरूले गर्र्दै आएका छन् । आफ्नो गल्तिलाई आत्मालोचना गर्दै क्षमा माग्नुको साटो अरुमाथि दोष थुपारेर सत्तोसराप दिने काम त त्यही पुरानो दलका पुरानो नेताहरूले मात्र गर्दै आएका छन् । त्यही पुराना दलका पुराना नेताहरूको त्यस्तै रबैया देखेर दिक्क भएका जनताले के के नि गर्लान् भनेर रास्वपालाई जिताए । अहिले नयाँ भनिएको रास्वपा पनि त्यही ड्याङका मूला भएर निस्केपछि आफूहरूलाई ल्वप्पा ख्वाएको जनताले अनुभूति गर्दैछन् ।

भतुवाले भात ढुकेजस्तै शक्तिशाली मन्त्रालय पाइन्छ कि भनेर ढुकेर बसेका लामिछाने आफैँले गृहमन्त्री पाउने भएपछि प्रचण्ड सरकारलाई समर्थन गर्दै लुरुक्क सरकारमा छिरे र गुहमन्त्री पनि पड्काए । आफ्नो अधिकारको लक्ष्मण रेखा तोड्दै अर्काको मन्त्रालयको कामकारबाहीमा हस्तक्षेप पनि गरे । डा. तोसिमा कार्कीलाई स्वास्थ्यमन्त्री पनि बनाए । तर, कठै सामाजिक सञ्जालको हुइँयाबाट सर्लक्क उठेका तोसिमाहरूले सामाजिक सञ्जाललाई नै सर्वेसर्वा ठान्दा संवेदनशीलतालाई भने भुसुक्कै बिर्से र अग्निदाहाबाट घायल भएका प्रेमप्रसादको सघन कक्षमा गएर भिडियो नै खिचे । आफैँ डाक्टर त्यसमाथि स्वास्थ्यमन्त्रीजस्तो जिम्मेवार पदमा रहेकी उनको सर्वत्र आलोचना भयो तर लामिछानेकी साख्खे चेली यिनी, यिनले पनि आत्मालोचना किन गर्थिन् र ? यस्तो कुसंस्कार त पुरानो पार्टीमा मात्र हावी थियो हैन र ?

पुनः भएको निर्वाचनमा दोस्रोपटक पनि चितवनवासीले लामिछाने नै रोजे । गृहमन्त्री पाए सरकारमा जाने नपाए, बाहिरिने स्वार्थनीतिका साथ बार्गेनिङको बाल्टिन बोकेर उनी शक्तिकेन्द्र पनि धाए अनि नपाउने भएपछि रचनात्मक प्रतिपक्षमा बस्ने भन्दै उल्टो खुट्टो गर्दै फर्के । यसबीच रास्वपाको सांसद ढाकाकुमारको डाँका प्रवृत्तिले पनि पुष्टि गरेन र नयाँ युवा भनिएकाहरू पनि पुरानाभन्दा खत्तम हुँदा रहेछन् भनेर ? नयाँ भनिएका, आशा गरिएका पार्टीका युवा सांसद नै युगान्तकारी भ्रष्टाचारमा लिप्त भएपछि रास्वपाप्रति हेर्ने दुष्टिकोणमा स्खलन त शुरु भएको छ फेरि पनि ढाकाकुमारलाई तुरुन्तै कारबाही गर्नु भनेको रास्वपाको सकारात्मक र प्रशंसनीय कदम हो । यद्यपि, पहिलो पटकभन्दा दोस्रो पटकको निर्वाचनमा बढी मत ल्याएर सांसद बनेका लामिछानेमा अहंताको शिखर एकपछि अर्को अग्लिँदै गएको प्रष्ट देखिन्छ । एकातिर पद पाए सरकारमा बस्ने नपाए, घुक्र्याउने काम जुन लामिछाने गरे त्यसले ऊ पनि पद लाल्चीमा निपुण भएको प्रष्ट देखिन्छ भने पदलाई नै सर्वेसर्वा ठान्ने, जस्तोसुकै सम्झौता गर्ने अनि आफ्नो कर्तव्यलाई भुसुक्क बिर्सने पुराना पार्टीका पुराना नेताहरूको कथाभन्दा कहाँ बगेल रह्यो र उनको त्यो चरित्र कथा ?

यसैबीच, अस्ति भर्खरै मात्र मुद्दा हालेर आफूलाई इरिटेड गरेको भन्दै उनले पत्रकार सम्मेलनमा भएभरको रोष प्रकट गरे । रोष मात्र प्रकट गरेको भए पनि ठिकै मान्न सकिन्थ्यो होला तर उनले त पुराना नेताहरूकै पदचापलाई पछ्याउँदै धम्की पनि दिए । यस्तै इरिटेड गर्दै जाने हो भने घण्टी बज्ने मात्र हैन घण्टीले बजाउन पनि मिल्छ भन्दै धम्की दिए । यस्तो हानथोक, मारकाट, डर धम्कीको राजनीति त पुराना दलका पुरानै नेताबाट अद्यापि हुँदै आएको छ । नयाँ भनिएका, अपार विश्वास गरिएका नयाँ पार्टीका यी नयाँ तन्नेरी नेताको कार्यशैली र लबज पनि उही पुरानाकै जस्तो भएपछि के अब नयाँले नयाँ गर्छ भन्ने विश्वास गर्न सकिन्छ र ? के फरक रह्यो र नयाँ र पुरानो पार्टीबीच ? यो त २०४८/०४९ सालको कांग्रेस, त्यसपछिको एमाले र ०६४/०६५ तिरको माओवादीजस्तै भएन र ? त्यस हो भने नयाँ पार्टी किन चाहियो र ? प्रश्न उठ्नु स्वाभाविक हो र उठ्दै पनि छ । 

अस्ति प्रतिनिधिसभा बैठकमा यिनका चेलो सांसद शिशिर खनालले जुन नाटक प्रस्तुत गरे त्यो अशोभनीय, अमर्यादित मात्र थिएन । सांसदको गरिमामाथिकै प्रहार पनि थियो । युवा र फ्रेस भनिएका माननीयहरूको गरिमामय उपस्थितिले खुशी भएको नेपाली मन खनालको भैंसी काण्डले दुखित बनाएको छ । उमेरले युवा हुँदैमा केही नापिने होइन रहेछ । नयाँ, नयाँ भिजन, मिशन र सकारात्क सोचले मान्छेलाई युवा बनाउँछ परन्तु युवा भनिएका सांसद खनालले जसरी प्रधानमन्त्री भैंसीमाथि चढेर आए भने त्यो लबज न शालिन हो, न सभ्य हो, न त भव्य नै हो । सांसद खनालले न आफ्नो पदीय गरिमालाई हेक्का राखे, न त प्रतिनिधिसभाको गरिमालाई नै हेक्का राख्न सके । 

मुखमा जे आयो त्यही बोल्ने, पदीय मर्यादा भूल्ने अमर्यादित सांसदहरू त यसअघि पनि छ्यासछ्यास्ती थिए । अहिले पनि छन् नि ! फेरि नेपाली जनतालाई किन चाहियो र उस्तै मार्का एवम् चालाका सांसद ? यो घटनाबाट फेरि एकपटक नेपाली जनतालाई सोच्न बाध्य पारिएको छ । मैले यति लेखिरहँदा चिन्नेले ‘यो मुला’ माओवादी रहेछन् भन्लान् । नचिन्नेले रविको घोर विरोधी । परन्तु म न कसैको घोर प्रशंसक हुँ न त कसैको घोर विरोधी नै ! यति लेखिरहँदा भगवानका

भक्तहरूको चित्त दुखाइ हुनु स्वाभाविक पनि हो । यस्तै भक्ते, हुक्के, चम्चेका कारण पुरानो दल बिग्रेका हुन् । पुराना शीर्षस्थदेखि कनिष्ठ भनिएका नेताहरू बिग्रिएका हुन् । यी भक्तेहरू आफना नेताको पादलाई पनि अत्तर ठान्ने र अरुको अत्तर भए पनि आचीको गन्ध मान्ने रोगबाट ग्रसित छन र भनिरहनु पर्दैन अहिले रास्वपा अर्थात् रवि लामिछानेका भक्तेहरू पनि यो रोगबाट ग्रसित छन् । त्यसैले सबै भक्तेले म म भनौं । नेतृत्वले गरेको काम कारबाहीमाथि समीक्षा गरौं र सकारात्क आलोचना गरौं । अन्धो भएर भगवानको जयजयकार नगरौं र नेतृत्वले पनि अहम्ताको पहाडमा उभिएर आफूलाई भगवान नै नठाऔं । हैन भने इतिहास साक्षी छ नयाँ भनिएका, सोच विचार सिद्धान्त चट्टानी भएका, जनताले अपार विश्वास गरिएका पार्टीहरू पनि यस्तै यस्तै रबैयाका कारण कालान्तरमा रसातालमा पुगेको ।

त्यसैले पनि सहजै अनुमान लगाउन सकिन्छ पुराना दलप्रतिको वितृष्णाको बवण्डरबाट हुर्किएको रवि लामिछानेको पार्टी पनि छिट्टै रसातालमा पुग्ने नै छ । किनकि मौका बारम्बार आउँदैन र जनताले बारम्बार एउटैलाई मौका पनि दिँदैनन् । जुन ०४८ सालमा कांग्रेसलाई दिएको थियो । ०५६ मा एमालेलाई अनि ०६४ मा माओवादीलाई । अतः यो महान् अवसरलाई समयमै रास्वपाले सदुपयोग गर्न सकेन भने, समयमै सचेत हुन सकेन भने पछि फुर्सदमा प्रायश्चित गर्नु भने न्याउरी मारी पछुतो भनेजस्तै हुनेछ । चेतना भया !

टिप्पणीहरू