विकासको मोडलबारे पुनर्विचार गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकास मोडेलबारे पुनर्विचार गर्नुपर्ने बताउनुभएको छ । लुम्बिनी केवलकारको आज दिउँसो बुटबलमा उद्घाटन गर्दै उहाँले यस्तो भन्नुभएको हो ।
प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘ हामीले अहिलेसम्म चल्दै आएको हाम्रो विकास मोडेलबारे पनि पुनर्विचार गर्न आवश्यक छ । हालसम्मका योजनावद्ध विकासका प्रयासबाट भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, लैंगिक समानता, समावेशीता जस्ता क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भए तापनि उत्पादन र रोजगारीको क्षेत्रमा हाम्रो प्रगति उत्साहजनक छैन ।’

प्रधानमन्त्रीले अर्थतन्त्रलाई चलायमान बनाउन र उद्योग–व्यवसायलाई संकटबाट जोगाउन रोकिएको घरजग्गा कारोबारलाई सुचारू गर्ने निर्णय गरिसकिएको पनि त्यसक्रममा जानकारी गराउनुभयो ।
‘यसले अर्थतन्त्र सुधारका क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ । तर पछिल्लो समयमा आर्थिक प्रणालीमा व्यवसायिक चक्रभन्दा सम्पत्तिको मूल्य वृद्धि चक्र हावी हुनु दुःखद् हो । कृषि, म्यानुफेक्चरिङ, उद्योग एवं वास्तविक सेवा क्षेत्रको वृद्धिदरलाई उच्च बनाएमा मात्र त्यसको आधारमा वित्तीय क्षेत्र बलियो र स्थीर रहन्छ’, उहाँले भन्नुभयो ।
उच्च मुद्रास्फीति र अस्थीर व्याजदरले राज्य एवं सामान्य नागरिकको बजेट प्रणाली, ज्याला, उद्योगको विकास र आम जनसमुदायको जीवनस्तरमा नकारात्मक प्रभाव पार्ने भएकाले सरकारले उपयुक्त कदम चाल्ने पनि प्रधानमन्त्री प्रचण्डले विश्वास दिलाउनुभयो ।

टिप्पणीहरू