प्रधानमन्त्रीसँग विश्व बैंकका प्रतिनिधिको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग विश्व बैंकका प्रतिनिधिको शिष्टाचार भेट

विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गरेका छन् ।

भेटमा नेपालमा विश्व बैंकले लेखेको भूमिका र भावी सम्भावनाका विषयमा कुराकानी भएको थियो । सो क्रममा प्रधानमन्त्री प्रचण्डले विश्व बैंकसँगको ६ दशक भन्दा लामो सहकार्यको स्मरण गर्दै नेपालले विकास प्रक्रियामा भोग्नु परेका जलवायुजन्य चुनौतीहरु र हरित विकासका सम्भावनाबारे छलफल गर्नुभयो ।

विश्व बैंकले नेपालको आर्थिक तथा सामाजिक विकासमा खेलेको भूमिकाप्रति धन्यवाद दिँदै मुख्यत: जलविद्युतको विकासको लागि वित्त व्यवस्थापनमा विश्व वैंकले खेलेको समन्वयकारी भूमिकाको लागि प्रधानमन्त्रीले उपाध्यक्ष मार्टिनलाई धन्यवाद दिनुभयो ।

नेपालको जलविद्युत विकासबाट नेपाल मात्र नभई छिमेकी मुलुकहरु भारत तथा बंगलादेशसमेत लाभान्वित हुने साथै हरित र स्वच्छ उर्जाको विकासबाट जलवायु परिवर्तनका असरहरु न्यूनीकरण भै क्षेत्रीय तथा विश्वका सबै जनताले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लाभ पाउने प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गर्नुभएको थियो ।

हालै भएको आफ्नो भारत भ्रमणको क्रममा नेपाल-भारत दीर्घकालीन सम्झौतामार्फत आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत लैजाने घोषणा गरेको सन्दर्भ उल्लेख गर्दै उहाँले यसले जलविद्युत विकासमा नयाँ सम्भावना खोलेको बताउनुभयो । साथै नेपालको जलविद्युत विकासमा सहकार्य गर्न बंगलादेशसंग पनि छलफल भैरहेको प्रधानमन्त्रीले जानकारी गराउनुभयो ।

भेटका क्रममा बैंकका उपाध्यक्ष मार्टिनले नेपालको आर्थिक तथा सामाजिक विकासमा सक्दो सहयोग गर्न विश्व बैंक सधै तत्पर रहेको बताउँदै उपलब्ध साधन र स्रोतको अधिकतम उपयोग गर्न सुझाव दिनुभयो । सुधारका क्षेत्रमा हातेमालो गर्न विश्व बैक सधै अग्रसर हुने प्रतिबद्धता जनाउनुभयो ।

सो अवसरमा विश्व वैंकका तर्फबाट पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष श्री वांग्जी चेन, उपक्षेत्रीय निर्देशक श्री फारिस हद्दाद जर्भोस लगायत विश्व बैंक तथा अर्थ मन्त्रालयका अधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

टिप्पणीहरू