नागरिकतामा सर्वोच्चले अड्काए भोलिदेखि सरकारमा बसिबसी आन्दोलन

नागरिकतामा सर्वोच्चले अड्काए भोलिदेखि सरकारमा बसिबसी आन्दोलन

जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समिति बैठक अस्ति  राजधानीमा बसेको छ । बैठकमा पार्टी अधिवेशनबारे लामै छलफल भएको थियो  ।अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकमा गत चुनावताका पार्टीमा भएको अन्तर्घातबारे राम्रैसँग कुराकानी भएको स्रोतको दाबी छ ।

‘गत आमनिर्वाचनको बेला अन्तर्घात गर्नेहरुबारे अध्ययन गर्न एउटा कार्यदल बनेको थियो । त्यो रिपोर्टमाथि छलफल भयो । रिपोर्ट पढेर सुनाइयो तर बाँडिएन,’ बैठकमा सहभागी एक जना सदस्यले भने । प्राप्त जानकारीअनुसार चुनावमा अन्तरघात गरेकाहरुलाई जसपाले पार्टी सदस्यबाट निश्कासन गरेको छ ।

त्यसपछि बैठकमा हालै राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयकबारे निकै गम्भीर ढंगले छलफल भएको बताइन्छ । उक्त विधेयक प्रमाणीकरणको प्रक्रिया असंवैधानिक भएको जिकीर गर्दै सर्वोच्च अदालतमा परेको मुद्दाको अर्को पेसी भोलिलाई तोकिएको छ ।

बैठकमा नेतृत्वले गरेको कुराकानी उल्लेख गर्दै स्रोतले भन्यो, ‘सर्वोच्चले के गर्ने हो,मंगलबार पेसी छ । तर दायाँबायाँ भयो भने व्यापक आन्दोलनमा गइन्छ ।’ प्रतिनिधिसभा र राष्ट्रिय सभाले निर्णय गरेर पठाएपछि राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयकलाई अदालतले दायाँबायाँ गर्न नहुने जसपाका नेताहरुको भनाई थियोे ।

सर्वोच्च अदालतले गत साता उक्त विधेयक कार्यान्वयनको सम्बन्धमा अल्पकालीन अन्तरिम आदेश दिएपनि अब थप प्रतिकूल आदेश दिएको अवस्थामा संविधान विपरित हुने उनीहरुको निश्कर्ष छ । त्यस्तो निर्णय आएको अवस्थामा विधायिकाको सार्वभौम अधिकारमाथि हस्तक्षेप हुने ठहर जसपाले गरेको बताइन्छ ।

त्यसैगरी राष्ट्रपतिको अधिकारमाथि हस्तक्षेप गरेको ठहर हुने भन्दै बैठकमा यसअघि राष्ट्रपतिले रद्द नगरेको तर अड्काएको मात्रै विधेयकलाई प्रमाणीकरणपश्चात् पनि अत्तो थापेमा उसले ‘पहाडे राष्ट्रवाद’ को सन्देश प्रवाह हुने चेतावनीसमेत दिएको छ  । 

जसपा स्रोतले भन्यो, ‘राज्यसत्तामा हावी भएकाहरुको अहंकार देखिँदैछ । सर्वोच्च अदालतले राजनीतिक निर्णय लिन खोजेको हो कि भन्ने आशंका छ । तर दायाँबायाँ गरे मधेशलगायत सर्वत्र आन्दोलन गर्ने निर्णय भएको छ ।’

टिप्पणीहरू