जनप्रतिनिधिहरु भटाभट ‘बालेन पथ’ मा

जनप्रतिनिधिहरु भटाभट ‘बालेन पथ’ मा

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेपछि केही स्थानीय तहका जनप्रतिनिधिले पनि त्यही सिको गर्न थालेका छन् । मेयर बालेनले उक्त नक्सा राखेको एक साता बित्न नपाउँदै अन्य जनप्रतिनिधिहरुले पनि आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेका हुन् । 

मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङले आफ्नो कार्यकक्षको भित्तामा ‘ग्रेटर नेपाल’ को नक्सा झुण्डाएका छन् । भित्तामा राष्ट्रपति रामचन्द्र पौडेल र निशान छापको बीचमा नक्सा राखिएको छ । 

त्यस्तै, झापाको दमक नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष भीमप्रसाद पौडेल र बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष लवराज खरेलले पनि ‘ग्रेटर नेपाल’ को नक्सा भित्तामा टाँगेका छन् । 

भारतको नयाँ संसद् भवनको काठमा कुँदिएको ‘अखण्ड भारत’ को नक्सामा नेपालका भूभाग समेत समावेश गरिएको विरोधमा उक्त नक्सा राखिएको वडाध्यक्ष लवराज खरेलले बताए । लुम्बिनी र कपिलवस्तुलाई समेटेर भारतले इतिहासमै नभएको नक्सा बनाउँदासमेत कसैले बोल्ने आँट नगरेकाले स्थानीय तहबाट विद्रोह शुरु गरिएको उनको भनाई छ ।

उनले जनसमुदायबाटै भारतले गरेको कार्यको विरोध हुनुपर्ने बताएका छन् । वडा कार्यसमितिको निर्णयपछि उक्त नक्सा राखिएको वडाध्यक्ष खरेलले बताए । 

‘भारतले इतिहासमै नभएको काम गरेपछि हामीले विरोध गरेका हौं । नेपालको भूभागलाई भारतले आफ्नो नक्सामा समेट्न मिल्छ ? छिमेकीले मुलुकको भूभाग लगेर आफ्नो नक्सामा समेटिसक्यो, कसैले बोल्ने आँट नै गर्दैन । त्यसकै विरोधमा वडा कार्यसमितिको बैठक बसेर ग्रेटर नेपालको नक्सा राखेका हौं’, उनले भने । 

भारतले ‘अखण्ड भारत’ को नक्सा सार्वजनिक गरेपछि नेपालमा चर्को विरोध भइरहेको छ । उक्त नक्साबाट नेपाली भूमि हटाउन माग गर्दै विद्यार्थी संगठनहरुले यसअघि विरोध प्रदर्शनसमेत गरेका थिए ।

टिप्पणीहरू