कसैलाई कालोमोसो दलेका छैनौं : नेविसंघ

कसैलाई कालोमोसो दलेका छैनौं : नेविसंघ

नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोग प्रमुख महेश दाहालमाथि कालोमोसो नदलेको बताएको छ । उनलाई कालोमोसो दलिएको घटनामा आफूहरुहको कुनै संलग्नता नरहेको दाबी गरिएको छ । 

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले कुनै पनि शैक्षिक संस्थामा हुने यस्ता अमानवीय क्रियाकलापको संरक्षण नेविसंघले नगर्ने र संलग्न व्यक्ति आफैं जिम्मेवार हुनुपर्ने बताएका छन् । 

आज जारी विज्ञप्तिमा शेर्पाले, ‘नेपाल विद्यार्थी संघ पूर्वाञ्चल विश्वविद्यालय समिति मोरङले पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहालमाथि कालोमोसो दलेर दुव्यवहार गरेको भन्ने भ्रामक खबरप्रति नेविसंघ केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण भएको,’ जनाएका छन् । कुनैपनि शैक्षिक संस्थामा हुने यस्ता अमानवीय क्रियाकलापको संरक्षण नेविसंघले नगर्ने र संलग्न व्यक्तिहरु आफैँ जिम्मेवार हुने कुरालाई उनले जोड दिएका हुन् ।

अध्यक्ष शेर्पाले उक्त घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै शिक्षालयभित्र यस्ता हर्कत गर्ने जो कोहीलाई कारबाहीको दायरामा ल्याउन गृह मन्त्रालय र पूर्वाञ्चल विश्वविद्यालयसमक्ष माग पनि गरेका छन् ।

नेविसंघको नाम जोडेर भएका यस्ता गतिविधि र घटनाबारे विस्तृत छानबिन गरी एक हप्ताभित्र सत्यतथ्यसहित प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाउन तीन सदस्यीय छानबिन समिति गठन गरिएको शेर्पाले बताए ।

टिप्पणीहरू