नवविवाहित सांसदले भनिन् : तलब र सेवासुविधा अपुग भयो
हालै वैवाहिक बन्धनमा बाँधिएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् सोबिता गौतमले सरकारले तोकेको माननीयको तलव र सेवासुविधा अपुग भएको बताएकी छन् । कानुन तर्जुमा गर्न पर्याप्त ज्ञान हुनुपर्ने र विज्ञता खियाउनुपर्ने उल्लेख गर्दै उनले नेपाल सरकारले दिएको तलवमा खोजअनुसन्धान गरेर प्रस्तुति दिन असम्भव रहेको बताएकी हुन् ।
पोडकास्टसँग कुराकानी गर्दै उनले सरकारले दिएको न्यून सेवासुविधाकै कारण राम्रो तयारी गर्न नसकिएको दाबी गरेकी छन् । उनले भनिन्, ‘नट इनफ ! एउटा स्वकीय सचिव हुन्छ । सांसद भनेपछि सबै कुरा म्यानेज गरिदिन सक्छ भन्ने खालको एउटा कन्सेप्ट छ ।’ उनले दुर्गम क्षेत्रबाट निर्वाचित भएका सांसदहरुको दुखेसो पनि पोखेकी छन् । ती सांसदहरुलाई राजधानीमा खान बस्न नै हम्मेहम्मे परेको उनको भनाइ छ ।
‘नट इनफ ! एउटा स्वकीय सचिव हुन्छ । सांसद भनेपछि सबै कुरा म्यानेज गरिदिन सक्छ भन्ने खालको एउटा कन्सेप्ट छ ।’
‘बिचरा झन् त्यो दुर्गम क्षेत्रबाट निर्वाचित भएर आएका सांसदहरुलाई कति गाह्रो छ । शहरमा आएर भाडामा बस्नुपर्यो । अहिले काठमाडौंको भाडा हेर्ने हो भनेदेखि एउटा सामान्य फ्ल्याटको पनि ३० देखि ३५ हजार रुपैयाँ चाहिन्छ । एउटा मात्र कोठा लिने हो अलग कुरा’, उनले भनिन्,‘खानुपर्यो,अनि मान्छे आउँछन् । बिरामी आउँछन्,सहयोग गरिदिनुपर्यो । निर्वाचित सांसद हो,हाम्रो सांसदले केही गर्देला भन्ने अपेक्षा हुन्छ । यसो साथीभाइ आउँदा चिया खुवाउनुपर्यो । यो गर्नुपर्यो, त्यो गर्नुपर्यो । हिँड्नुपर्यो ।’
कतिपय सांसदले सार्वजनिक यातायात प्रयोग गर्ने बताउँदै उनले त्यसमा सांसदहरुलाई निकै गाह्रो हुने गरेको पनि उल्लेख गरिन् । सुरक्षा नहुने भएकाले सार्वजनिक यातायातमा यात्रा गर्न नसकिने गौतमको जिकिर छ । उनले सांसदलाई देश लुटाहा भन्न नमिल्ने पनि सोही सन्दर्भमा बताइन् ।
‘सांसदहरु देश लुट्ने हुन् भन्ने छ । तर, मैले देखेको बिचरा त्यस्तो होइन रहेछ के । पैसा दिन परेन बरु,सांसदहरु जो–जो छ उनीहरुलाई सम्मानपूर्वक बस्न सक्ने सुनिश्चितता गर्नुपर्यो । उनीहरुलाई विषयसँग सम्बन्धित कुराहरु अध्ययनका लागि टिम, त्यतिचाँहि सरकारले गर्नुपर्छ । नयाँ फरक चिराले हेर्नुपर्छ । नभए यो कहिले पनि रोकिँदैन, जुन करप्सनको कुरा गर्छौं, त्यो पनि रोकिँदैन’, कुराकानीको क्रममा उनले उल्लेख गरिन् ।
भिडियो: पोडकास्ट
टिप्पणीहरू