चार दलको समाजवादी मोर्चा ५ गते घोषणा, अरु दुई दललाई पनि समेट्ने तयारी
संसदभित्र र बाहिर रहेका चार वटा वामपन्थी दलहरुको समाजवादी मोर्चा पर्सि घोषणा गरिने भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलका शीर्ष नेताहरुको बैठकले असार पाँच गतेलाई मोर्चा घोषणाको निर्णय गरेको हो ।
सत्तारुढ नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा मोर्चामा सामेल हुनेछन् । आज बिहान बालुवाटारमा भएको छलफलमा माओवादी केन्द्रबाट प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,उपप्रधानमन्त्री एवम् सो पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ सहभागी हुनुहुन्थ्यो । त्यस्तै,एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, जसपाबाट अध्यक्ष उपेन्द्र यादव र नेकपाबाट महासचिव विप्लव उपस्थित हुनुहुन्थ्यो ।
समाजवादी मोर्चामा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतमको राष्ट्रिय एकता अभियानलाई समेत समेट्ने तयारीका साथ छलफल चले पनि आजको बैठकमा ती दुई दलका नेता सहभागी नभएको बताइएको छ ।
टिप्पणीहरू