बाबुराम मानेपछि समाजवादी मोर्चा घोषणा भोलि नै

बाबुराम मानेपछि समाजवादी मोर्चा घोषणा भोलि नै

संसदभित्र र बाहिर रहेका चार वटा वामपन्थी दलहरुको समाजवादी मोर्चा भोलि घोषणा गरिने भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलका शीर्ष नेताहरुको बैठकले भोलि मोर्चा घोषणाको निर्णय गरेको हो । 

नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले भोलिलाई मोर्चा घोषणाको मिति तय भएको जानकारी दिनुभयो । भोलि अपराह्न राष्ट्रियसभा गृहमा विशेष कार्यक्रमवीच मोर्चा घोषणा गर्ने उहाँको भनाई छ । यद्यपि मोर्चामा रहने दलहरुका विषयमा अन्तिम टुंगो लागिनसकेको पनि खतिवडाले जानकारी दिनुभयो । 
 
तर, बालुवाटार बैठकले भने सत्तारुढ नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी मोर्चामा सामेल हुने सहमति गरेको बताइएको छ । 

यसअघि बाबुराम मोर्चामा रहने निश्चित भैनसकेकाले पर्सि (असार पाँच) मात्रै औपचारिक घोषणा गर्ने भनिएको थियो । तर, बालुवाटार बैठकमा अनुपस्थित रहनुभएका भट्टराई अन्तिम समयमा मोर्चामा रहन तयार भएपछि भोलिका लागि सारिएको हो । 

आज बिहान बसेको बैठकमा माओवादी केन्द्रबाट प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,उपप्रधानमन्त्री एवम् सो पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ सहभागी हुनुहुन्थ्यो । त्यस्तै,एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, जसपाबाट अध्यक्ष उपेन्द्र यादव र नेकपाबाट महासचिव विप्लव बैठकमा हुनुहुन्थ्यो । 

स्थानीय तहसम्म संयन्त्र बनाउनेगरी घोषणा गर्न लागिएको मोर्चाको उद्धेश्य सडक, संसद र सरकारबाट समाजवादी कार्यक्रम लागू गराउन पहल गर्ने हुने जनाइएको छ । मोर्चा गठनसँगै यो संसदमा ४५ सिटको निर्णायक शक्तिसमेत बन्नेछ ।
 

टिप्पणीहरू