गोलभेडा किसानलाई राहत दिन माग

गोलभेडा किसानलाई राहत दिन माग

अखिल नेपाल किसान महासंघले कृषि उपजहरुको समर्थन मूल्य निर्धारण गरी अनिवार्य खरिदको व्यवस्था मिलाउन माग गरेको छ । 

बजारमा गोलभेडाले उचित मूल्य नपाएकाले किसानले ठूलो क्षति बेहोर्नुपरेको उल्लेख गर्दै महासंघले यस्तो माग गरेको हो । महासंघका महासचिव बाबुराम थापाले विज्ञप्ति जारी गर्दै गोलभेडा उत्पादनमा क्षति भोगेका किसानको उत्पादनको वास्तविक तथ्यांक संकलन गरी लागत मूल्य बराबरको रकम राहतस्वरुप प्रदान गर्न सरकारको ध्याानकर्षण गराएका छन् । 

कडा परिश्रम र उच्च लगानीबाट उत्पादित कृषि उपजहरुको मूल्यसमेत नपाउने परिस्थिति बारम्बार दोहोरिनुले कृषि पेशा दिनप्रति दिन जोखिमपूर्ण बन्दै गएको भन्दै महासंघले चिन्ता जनाएको छ । 

‘नेपाली कृषि बजारलाई सुरक्षित गर्ने र किसानलाई संरक्षण गर्ने सरकारको कुनै प्रभावकारी नीति नभएका कारण किसानहरु दुध, तरकारी, कुखुरा, अण्डालगायतका उपजहरु सडकमा फ्याकेर विरोध गर्न बाध्य छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘किसानहरु विभिन्न माध्यमबाट सरकारको ध्याानकर्षण गराउँदै आएका छन् । तर, सरकारले समस्या संवोधनका लागि कुनै ठोस कदम लिन चाहेको देखिदैँन ।’

किसानको श्रम र पसिनाबाट सिंचित उत्पादनहरु सडकमा नष्ट भएको टुलुटुलु हेरेर बस्ने सरकार र सम्बन्धित निकायको औचित्यतामाथि आम किसानले प्रश्न उठाइरहँदा सरकारको शून्य जवाफदेहिताप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको महासंघले जनाएको छ ।
 

टिप्पणीहरू