अस्थिरताको अर्को अध्याय: वामदेवको मन फेरि भरङ्ग
फेरि ६० लाख भोटसहित एमालेलाई पहिलो पार्टी बनाउन खटिएर लाग्ने प्रस्ताव गरेको २४ घण्टा नपुग्दै वामदेव गौतमको एमालेमै फर्किने स्वप्रस्ताव तत्काललाई रोकिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रस्तावमा सहमत नभएपछि एमालेमै फर्किएर सक्रिय हुने गौतमको चाहना तत्कालका लागि पूरा नहुने भएको हो ।
विगतमा पटक-पटक नेताहरुको स्वार्थको भकुण्डो बन्दा राजनीतिको उत्तरार्धमा झन्डै पार्टीविहीन अवस्थामा पुग्नुभएका गौतम हिजो उत्साहित भएर च्यासलबाट फर्किनुभएको थियो । तर, आज 'ओलीले मान्नुभएन' भनेर उहाँका तर्फबाट वक्तव्य आएको छ । समाजवादी मोर्चामा वामदेवको सहभागिता रोक्न आफूतिर इन्गेज गराइराख्ने ओलीको रणनीतिक चाल नबुझ्दा गौतम पुन: एकपटक 'भकुण्डो' हुनुभएको छ ।
आज घोषणा भएको माओवादी केन्द्र र एकीकृत समाजवादीसहितको चार दलीय समाजवादी मोर्चामा वामदेवलाई पनि सहभागी गराउने प्रयास जारी थियो । तर,एमालेमै फर्काउन ओली सहमत हुने ओलीको संकेत पाएपछि गौतमको प्राथमिकतामा मोर्चा परेन । परिणामत: वामदेव यता न उता हुनुभएको छ ।
ओलीले समाजवादी मोर्चामा जानबाट रोक्नका लागि 'इन्गेज' गराएर अन्त्यमा वामदेवको माग अस्विकार गरेपछि नेकपा राष्ट्रिय एकता अभियानका प्रवक्ता निमकान्त पाण्डेले विज्ञप्ति निकालेर भनेका छन्, 'एकीकृत भएपछि पार्टीका नेता-कार्यकर्ताहरुको व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धमा कार्यदल निर्माण गर्न प्रस्ताव गर्नुभयो । सो प्रस्तावका सम्बन्धमा एमाले अध्यक्ष क.केपी ओलीले असहमति जनाउनुभयो । उहाँले प्रस्ताव गर्नुभयो–नेकपा (एमाले) मा एकीकृत भएको घोषणा गर्नुभयो भने पार्टीले तपाईसमेत सबै कमरेडहरुको व्यवस्थापनबारे निर्णय गर्नेछ । अध्यक्ष क.केपी ओलीको यस्तो प्रस्तावमा हाम्रो पार्टी अध्यक्ष क.वामदेव गौतम सहमत हुनसक्नु भएन । तत्पश्चात सम्वादलाई निरन्तरता दिनेगरी उक्त दिनको भेटघाट अन्त्य गरिएको जानकारी गराइन्छ ।'
तत्कालीन नेकपामा अन्तरविरोध चर्किंदा कहिले प्रचण्ड-माधव त कहिले ओलीलाई साथ दिनुभएका गौतम पार्टी फुटपछि तटस्थ बस्नुभएको थियो । पछि माधवकुमार नेपालले एमाले विभाजन गर्दा पनि कतै लाग्नुभएन । यसबीच नेकपा एकता राष्ट्रिय अभियानका नाममा फुटेका कम्युनिष्ट शक्तिहरुलाई जुटाउने आफ्नो प्रयासले सार्थकता नपाउँदा गौतम एमालेमै फर्किने तयारीमा हुनुहुन्थ्यो । एमालेले पार्टी विधानमा रहेको ७० वर्षे उमेर हद हटाएपछि हौसिनुभएका गौतमले आफू बाहिर भएपनि सदस्यता एमालेमै रहेको अभिव्यक्ति पनि दिनुभयो ।
यसबारे ओलीसँग हिजो च्यासलमा कुराकानी भएको विज्ञप्तिमा जनाइएको छ । 'समाजबादी मोर्चामा हाम्रो पार्टीलाई पनि सहभागिताका लागि प्रस्ताव आएको र पटक–पटक सम्बाद पनि भएको हो । तर अहिलेसम्म समाजबादी मोर्चामा सहभागी हुने वा नहुने भन्ने सम्बन्धमा हाम्रोपार्टी अझै निर्णयमा पुगेको छैन । नेकपा (एमाले) संग हाम्रो पार्टी एकीकृत हुने सम्बन्धमा विभिन्न चरणमा वार्ता भएका छन् ।'
टिप्पणीहरू