उपप्राध्यापकलाई न्याय नदिए आन्दोलन गर्ने प्राध्यापकहरुको चेतावनी

उपप्राध्यापकलाई न्याय नदिए आन्दोलन गर्ने प्राध्यापकहरुको चेतावनी

नेपाल प्रगतिशील प्राध्यापक संगठनले त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र विषयका उपप्राध्यापक प्रेम चलाउनेलाई न्याय दिन सरकारसँग माग गरेको छ । सरकारलाई मुद्दा फिर्ता लिने निर्णयबाट पछि हट्न आग्रह गर्दै संगठनले उपप्राध्यापक चलाउनेलाई न्याय दिन माग गरेको हो । 

२०७७ असोज २० गते त्रिभुवन विश्वविद्यालय परिसरमा उनीमाथि भएको आक्रमणमा संलग्न अभियुक्तहरु विरुद्धको मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा महान्यायाधिवक्ताको कार्यालयले ‘मुद्दा फिर्ता हुँदा फरक नपर्ने र कानुनको प्रतिकूल नहुने’ राय दिएपछि संगठनले आपत्ति जनाएको छ । 

हत्याको उद्देश्यले भएको भौतिक आक्रमणमा परेर लामो समय थलिएर बस्नुपरेको अवस्था देख्दादेख्दै पनि महान्यायाधिवक्ताको कार्यालयले मुद्दा फिर्ता लिन दिएको गैरकानुनी रायले मुलुकमा लोकतन्त्र, मानवअधिकार र न्याय मरेको आभास भएको संगठनले बताएको छ । 

संगठनले आज विज्ञप्ति जारी गर्दै उपप्राध्यापकमाथि भएको अन्यायपूर्ण व्यवहारले उच्च शिक्षा क्षेत्रको उपहास मात्र नभई समग्र राज्य सुरक्षामाथि सरकार अनुदार रहेको पुष्टि भएको उल्लेख गरेको छ । पीडितको पहरेदार हुनुपर्ने सरकार आफैं मुद्दा फिर्ता लिने निर्णयमा पुगेपछि न्यायको ढोका बन्द भएको संगठनको ठहर छ । 

‘विद्यार्थी संगठनको पृष्ठभूमिमा भएको यस किसिमको जघन्य अपराधमा संलग्न जोकोही अपराधी कानुनको नजरभन्दा बाहिर नरहुन् भनेर पहरेदार गर्नुपर्ने सरकार आफैंले मुद्दा फिर्ता गर्ने निर्णयमा पुगेपछि यस किसिमको फौजदारी अभियोगसम्बन्धी मुद्दाका पीडितहरुले सरकारबाट कसरी न्याय पाउने ?’, संगठनले प्रतिप्रश्न गरेको छ । 

संगठनले उपप्राध्यापकको मुद्दा अदालतबाटै निरुपण हुन दिन र मुद्दा फिर्ता लिने निर्णय अविलम्ब खारेज गर्न जोडदार माग गरेको छ । त्यस्तै, मुद्दा फिर्ताको निर्णय खारेज नभएमा सशक्त आन्दोलनमा जाने संगठनको चेतावनी छ ।
 

टिप्पणीहरू