रास्वपाको नयाँ अफिसमा ठूलाबडालाई चियापानको निम्तो

रास्वपाको नयाँ अफिसमा ठूलाबडालाई चियापानको निम्तो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी स्थापना दिवसको अवसरमा चियापान कार्यक्रम गर्ने भएको छ । भोलि दिउँसो १ बजे नयाँ पार्टी कार्यालयमा चियापान गर्न लागिएको हो ।

रास्वपाले चियापानमा प्रधानमन्त्रीदेखि दलका शीर्ष नेता र कूटनीतिक नियोगका प्रमुखसम्मलाई निम्तो गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, विभिन्न दलका अध्यक्ष तथा सभापति, कूटनीतिक नियोगका प्रमुख, नीजि क्षेत्रसंवद्ध संघ संस्थाका प्रमुखलगायतलाई चियापानमा आमन्त्रण गरिएको रास्वपाले जनाएको छ ।

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक, सचेतकलाई पनि चियापानमा बोलाइएको छ । चियापान दिउँसो १ बजेदेखि शुरु हुने जनाइएको छ ।  

गत वर्षको असारमा गठन भएको रास्वपा लगत्तैको आमचुनावमा अप्रत्याशित परिणाम प्राप्तगरी संसद्को चौथो शक्ति बनेको छ । प्रतिनिधिसभामा २१ सिट रहेको पार्टीको केन्द्रीय कार्यालय आजसम्म बसुन्धारामा छ । तर, त्यहाँ ठाउँ साँघुरो भएको जनाउँदै रास्वपाले बालाजु, बनस्थलीस्थित छ तले भव्य भवनमा भोलिबाट कार्यालय सार्दैछ ।  

पार्टीको चुनाव चिन्हकै जस्तो रंग लगाइएको भव्य भवन झकिझकाउ पारिएको छ । आज बिहान घर पूजासमेत गरिएको थियो । नयाँ भवनको आँगनमा सभापति रवी लामिछानेले पूजापाठ गरेका थिए ।

टिप्पणीहरू