फेसबुकबाट गफाडी भन्ने धरानका मेयरलाई पर्यटनमन्त्रीको जवाफ
सामाजिक सञ्जालमा अरुबारे 'अन्टसन्ट' लेखेर चर्चामा रहिरहने धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ फेरि पर्यटनमन्त्री सुदन किराँतीसँग टकराएका छन् ।
मन्त्री किराँतीले बोलेका कुरा पूरा नगरेको भन्दै मेयर हर्कराजले गफाडीको संज्ञा दिएपछि यी दुईबीच फेसबुकमा सवालजवाफ परेको हो । मेयरले फेसबुकमा पोखेको आक्रोशको मन्त्रीले फेसबुकबाटै जवाफ दिएका छन् ।
पर्यटनमन्त्री किराँतीले श्रम संस्कृति पदमार्ग निर्माणको आश्वासन मात्र देखाएको आरोप लगाउँदै हर्कराजले आज बिहान सामाजिक सञ्जालमार्फत असन्तुष्टि पोखेका थिए । उनले लेखेका छन्,‘सुदन किराँती पनि गफाडी रैछन् ! श्रम, संस्कृति पद मार्ग निर्माणको बाचा गरेका थिए,पुर्याएनन् ! बोलेका पूरा गर्नु है ! बिरुवा रोप्नचाँहि आउँदा हुन्छ ! वेलकम छ ! बधाई छ,जे होस् ! जय पिता पुर्खा !’
चर्चित मेयरबाट बाचा पूरा नगरेको आरोप लागेपछि पर्यटनमन्त्री किराँतीले फुस्नेबाट साँगुरी भन्ज्याङ्ग भेडेटार पदमार्ग निर्माणको लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिएका छन् । उनका अनुसार डेढ करोडका लागि अर्थ मन्त्रालयलाई प्रस्ताव गरिएकोमा बजेट अभावका कारण ५० लाख रुपैयाँ मात्र विनियोजन भएको हो ।
‘फुस्नेबाट साँगुरी भन्ज्याङ्ग भेडेटार पदमार्ग निर्माणको लागि ५० लाख रुपैयाँ विनियोजन भएको जानकारी गराउँदछु । हुन त हामीले एक करोड पचास लाखको प्रस्ताव गरी अर्थ मन्त्रालय पठाएका थियौं । सायद बजेट अभावको कारण त्यस्तै हुन गयो होला’, किराँतीले भनेका छन् ।
उक्त पदमार्गको नाम ‘तराई मधेश एकता पदमार्ग’ राख्न मन लागेको पनि उनले उल्लेख गरेका छन् ।
टिप्पणीहरू