माओवादीले केन्द्रीय कमिटी बोलायो, बैठकअघि हरहिसाब मिलाउन निर्देशन
नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने भएको छ । माओवादीले असार २३ गतेका लागि बैठक बोलाएको हो ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले संयुक्त हस्ताक्षर गरेर हालै मातहतका कमिटीमा पठाएको सर्कुलरमा केन्द्रीय कमिटी बैठक आगामी असार २३ गते बिहान ११ बजे प्रज्ञा भवन कमलादीमा बस्ने जनाइएको छ । बैठकमा तीनवटै आयोगका सदस्य र प्रदेश समितिका पदाधिकारीहरु समेत सहभागी हुने बताइएको छ ।
त्यस्तै, बैठकअघि असार १५ गतेभित्र दुईमहिने अभियानको समीक्षासहितको प्रतिवेदन पठाउन पनि सर्कुलरमा भनिएको छ । पार्टीले लेवी बुझाउन बाँकी भएकाले २० प्रतिशत लेवी र २०७८ पुसमा सम्पन्न भएको आठौं महाधिवेशनको हिसाब फछ्र्यौट गर्न बाँकी रहेका प्रदेशहरुलाई पनि केन्द्रीय समिति बैठकअगाडि हिसाब मिलान गर्न निर्देशन दिएको छ ।
टिप्पणीहरू