छायाँनाथका मेयरको कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा
मुगुको छायाँनाथ रारा नगरपालिकाका मेयर विष्णुकुमार भामले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेका छन् । आज बिहान पत्रकार सम्मेलन गरेर उनले कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा टाँसेका हुन् ।
भारतको नयाँ संसद् भवनको काठमा कुँदिएको ‘अखण्ड भारत’ को नक्सामा नेपालको भूभागसमेत समावेश गरिएको र भारतले नेपालको सीमाना मिचेको विरोधमा उक्त नक्सा राखिएको मेयर भामले बताए । लुम्बिनी र कपिलवस्तुलाई समेटेर भारतले इतिहासमै नभएको नक्सा बनाउँदासमेत कसैले प्रतिवाद नगरेपछि स्थानीय तहबाट विद्रोह शुरु गरिएको उनको भनाइ छ ।
मेयर भामले सबै स्थानीय तहबाट भारतले गरेको कार्यको विरोध हुन जरुरी रहेको समेत बताए । त्यस्तै, उनले राजनीतिक दल, बुद्धिजीवी र जनसमुदायलाई भारतको ज्यादतीको विरोधमा आवाज उठाउन आग्रह गरेका छन् ।
‘भारतले जे मनलाग्यो त्यही गरिरहेको छ, त्यही पनि हामी सहेर बस्न बाध्य छौं । मुलुकका लागि पहिले गोर्खालीले लडे, अब हामी लड्छौं । यसका लागि सबै एकजुट हुन आवश्यक छ’, मेयरले भने ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले केही समयअघि आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा टाँगेका थिए । उनको सिको गर्दै अन्य थुप्रै स्थानीय तहका जनप्रतिनिधिहरुले आफ्नो कार्यकक्षमा उक्त नक्सा राखिरहेका छन् ।
टिप्पणीहरू