काँग्रेसको मजदुर संगठनमा शेखर–गगन समूहको बर्चस्व, देउवा पक्ष दुई पदमा सीमित

काँग्रेसको मजदुर संगठनमा शेखर–गगन समूहको बर्चस्व, देउवा पक्ष दुई पदमा सीमित

नेपाली कांग्रेसको मजदुर संगठन नेपाल ट्रेड युनियन महासंघमा ईतर खेमाका उम्मेदवार विजयी भएका छन् । नयाँ नेतृत्व चयनका लागि हिजो भएको निर्वाचनमा शेखर–गगन पक्षका उम्मेदवार विजयी भएका हुन् । 

युनियनको १७ सदस्यीय कार्यसमितिमा १५ जना सो समूहका निर्वाचित भएका छन् । संस्थापन पक्षका योगेन्द्रकुमार कुँवर ४४१ मतसहित अध्यक्षमा निर्वाचित भएका छन् । उनले आफ्नो प्रतिस्पर्धी महेन्द्रप्रसाद यादवलाई ६५ मतान्तरले हराएका हुन् । त्यस्तै, ईतर पक्षबाट वरिष्ठ उपाध्यक्षमा तेजेन्द्रजंग कार्कीले प्रतिस्पर्धी अयोध्याप्रसाद यादवलाई पराजित गरे । उनले ४६९ मत प्राप्त गर्दा यादव ३३६ मतमै सीमित भएका हुन् । 
 
खुल्ला उपाध्यक्षतर्फ ईतर खेमाकै गणेशबहादुर केसी र ज्योति कोइराला विजयी भएका छन् । केसीले ४३८ र कोइरालाले ४१८ मत हासिल गरेका छन् । उनीहरुले खुल्ला उपाध्यक्षमा भिडेका संस्थापन पक्षका ध्रुवचन्द्र गौतम र शंकर लामिछानेलाई पराजित गरेका हुन् । 

महिला उपाध्यक्षमा राधिका कुइकेल खनालले ३९२ मत ल्याएर जित हासिल गर्दा संस्थापन पक्षबाट भगवती खड्का ३४३ मतसहित पराजित भएकी छिन् । उपाध्यक्ष सेवातर्फ ईतर पक्षबाट नेत्रविक्रम थापा, ललितबहादुर श्रेष्ठ विजयी हासिल गर्न सफल भएका छन् ।  अनौपचारिक तथा स्वरोजगार क्षेत्रबाट उपाध्यक्षमा ईतर पक्षका राजेश पालिखेले जीत निकालेका छन् । 

अध्यक्षपछिको शक्तिशाली मानिने महासचिवमा पनि शेखर-गगन समूहकै उम्मेदवार विजयी भएका छन् । सो समूहका अजयकुमार राईले ४६४ मतसहित जित हासिल गर्दा प्रतिद्धन्दी डीपी अर्याल ३३७ मतमा सीमित भए । उपमहासचिवतर्फ पनि सोही समूहका जनार्दन भट्टराई र बलदेव तामाङ्ग विजयी हुदाँ संस्थापनतर्फका रञ्जन थापा र राममंगल प्रसाद यादव पराजित भए । 

महिला उपमहासचिवमा सुशीला घिमिरे, सेवा क्षेत्रतर्फ उपसचिवमा देवदत्त बडु निर्वाचित भएका छन् । त्यसैगरी, उत्पादन क्षेत्रको उपमहासचिवमा संस्थापन पक्षका कुलबहादुर खड्का, अनौपचारिक तथा स्वरोजगार क्षेत्रको उपमहासचिवमा रुकमणि थापा विजयी भएका छन् ।

कोषाध्यक्षमा पनि इतर खेमाकै सञ्जय दाहाल विजयी भए । सहकोषाध्यक्षमा संस्थापन पक्षकी गीताकुमारी लामिछाने जीत हात पार्न सफल भइन् । ८८७ मतदाता रहेकोमा ८४६ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

 

टिप्पणीहरू