गगन थापाले मुख खोले : गठबन्धन फेरिन सक्छ

गगन थापाले मुख खोले : गठबन्धन फेरिन सक्छ

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सत्तारुढ गठबन्धन परिवर्तन हुनसक्ने संकेत गरेका छन् । गठबन्धनले सबैको चित्त बुझाउन नसके ‘त्यो पनि हुनसक्ने’ बताएका हुन् ।

काठमाडौं क्षेत्र नम्बर ४ को काँग्रेस क्षेत्रीय अधिवेशनलाई सम्बोधन गर्दै थापाले भने, ‘गठबन्धन ठीक ढंगले चलेन र चित्त बुझेन भने फेर्ने कुरा नौलो होइन । गठबन्धन फेरिनु र नयाँ सरकार बन्नु पनि अर्को नौलो होइन ।’

प्रधानमन्त्रीको विशेष पहलमा गठन भएको समाजवादी मोर्चाबारे बोल्दै महामन्त्री थापाले मोर्चामा अरु कम्युनिष्ट  थपिए पनि कुनै फरक नपर्ने बताए । उनले मोर्चामा नेकपा एमालेसमेत थपिएर कम्युनिस्टहरु एकै ठाउँमा भएपनि केही फरक नपर्ने उल्लेख गरेका हुन् । 

उनले वर्तमान निर्वाचन प्रणालीको पनि आलोचना गरेका छन् । थापाका अनुसार समानुपातिक निर्वाचन प्रणालीले गठबन्धन बनाउने र भत्काउने क्रम जारी राखेको भन्दै रोष प्रकट गरेका । ‘जताततै प्रदेशमा तल, माथि सबैतिर गठबन्धन किन भइरहेको छ ? यसको एउटा कारण भनेको हाम्रो निर्वाचन प्रणाली हो । हामीले यस्तो निर्वाचन प्रणाली किन बनायौं ? अब समानुपातिक निर्वाचन प्रणाली कम्तीमा लोअर हाउसमा नराखौं ।’

टिप्पणीहरू