गृहमन्त्री दुई दिनलाई चीन जाने

गृहमन्त्री दुई दिनलाई चीन जाने

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन जान लाग्नुभएको छ । उहाँ पर्सि सिचुआन प्रान्तको राजधानी छन्तु जाने कार्यक्रम तय भएको छ । 

उहाँ छन्तुमा आयोजना गर्न लागिएको ट्रेड एक्जिबिसनमा सहभागी हुन जान लाग्नुभएको बुझिएको छ । नेपाल चेम्बर अफ कमर्शका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा व्यापारीहरुको टोली पनि जाने तयारी छ । 

‘दुई दिने कार्यक्रमको लागि मन्त्रीज्यू चीन जाने कुरा छ,अरु विवरण थाहा भएन,’ गृह मन्त्रालय स्रोतले भन्यो । उहाँ छन्तुको कार्यक्रममा दुई दिन सहभागी हुनुहुनेछ । आउजाउ समेत गरेर चार दिनका लागि चीन जान लाग्नुभएका गृहमन्त्रीको उक्त कार्यक्रम मन्त्री बन्नुअघिदेखि नै तय भएको बताइन्छ ।

गत हिउँदमा नेपाल आएको चीनको विभिन्न शहरका मेयरहरुसँगको भेटमा ‘हुन्छ आउँछु’ भनेकाले अहिले उहाँ चीन जानैपर्ने बाध्यता भएको हो । ‘पहिले बोलेकाले पछि रद्ध गर्न नमिलेको हो । उता चिनियाँ पक्षले गृहमन्त्रीलाई अतिथि बनाएर कार्यक्रम सेटिङ गरिदिएछन्,’ माओवादी निकट स्रोतको दाबी छ । 

भेटको क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका स्थानीय नेताहरुसँग भेटघाट हुने कार्यक्रम छ । तर यस पटक गृहमन्त्री नितान्त बिजनेस सम्बन्धी काममा चीन आउन लाग्नुभएको चिनियाँ पक्षले जानकारी दिएको छ ।

टिप्पणीहरू