नेविसंघको तालाबन्दीपछि परीक्षा रोकियो
नेपाल संस्कृत विश्वविद्यालयको सेवा आयोगको कार्यालयमा नेपाली काँग्रेसको भ्रातृ संगठन नेविसंघले तालाबन्दी गरेपछि पूर्व निर्धारित परीक्षाका कार्यक्रमहरु स्थगित भएका छन् । आजदेखि असार १८ गतेसम्मका लागि तय भएको परीक्षा नेविसंघको तालाबन्दीका कारण स्थगित भएको बताइएको छ ।
विश्वविद्यालयको सेवा आयोगले २०७८ चैत १६ गते जारी गरेको प्रशासनिकतर्फका विभिन्न पदका विज्ञापनको लिखित परीक्षा दाङको बेलझुण्डीस्थित केन्द्रीय आयुर्वेद विद्यापीठमा आजदेखि हुन लागेको थियो ।
तर, नेविसंघको जिल्ला समिति, दाङले हिजो सेवा आयोगलगायत विभिन्न कार्यालयमा तालाबन्दी गरेपछि अन्तिम समयमा परीक्षा स्थगित गर्नुपरेको जानकारी दिइएको छ । आयोगले अर्को सूचना प्रकाशित नभएसम्मका लागि परीक्षा स्थगित गरिएको बताएको छ ।
आज प्रकाशित सूचनामा भनिएको छ, ‘नेपाल विद्यार्थी संघ, जिल्ला कार्य समिति, दाङले निर्धारित लिखित परीक्षाका कार्यक्रमलाई प्रभाव पार्ने गरी पूर्व सूचनाबिना अप्रत्याशित रुपमा मिति २०८०–३–९ गते सेवा आयोगलगायत स्थानमा तालाबन्दी गरेको हुँदा परीक्षाका कार्यक्रमहरु सहज रुपमा सञ्चालन हुने वातावरण नदेखिएकाले लोकसेवा आयोगले तोकेको स्थान, समय र मितिमा परीक्षा हुनेगरी हाल उल्लेखित परीक्षाका सबै कार्यक्रमहरु अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ ।’
विश्वकै संस्कृत अध्ययन केन्द्र बनाउने उद्देश्यका साथ २०४३ सालमा स्थापित नेपाल संस्कृत विश्वविद्यालय पछिल्लो समय अस्तव्यस्त बनेको छ । राजनीतिक अखडा बनेको विश्वविद्यालयमा लामो समयदेखि लगाइएको ताला केही महिनाअघि मात्र खोलिएको थियो ।
टिप्पणीहरू