देउवा पत्नीको कि कसको दबाबमा
‘जति भयो–भयो, अब योभन्दा बढी नगरौं’ भन्दै कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री प्रचण्डसँग भन्नुभयो, ‘तपाईंलाई अझै अगाडि बढौं भन्ने लाग्छ भने हामी पनि अब के गर्ने भनेर विचार गरौंला !’
नक्कली भुटानी शरणार्थी प्रकरणमा पत्नी आरजुसमेत मुछिने स्थिति भएपछि त्यससम्बन्धी मुद्दालाई बढी नतन्काउन दबाब दिँदै कांग्रेस सभापति देउवाले पक्राउ परेका पूर्वमन्त्री बालकृष्ण खाँणलाई पनि यो ‘झमेला’ बाट छिट्टै मुक्त गर्ने प्रयास थाल्नुभएको छ । शुरुमै खाँणलाई पक्राउ गर्न नदिने पक्षमा हुनुुहुन्थ्यो । पक्राउ परेपछि पनि धरौटीमा छुटाउन अनवरत प्रयास रह्योे । त्यो पनि सफल नभएपछि पुर्पक्षबाट छिटोभन्दा छिटो मुक्त गराउने योजनामा लाग्नुभएको भनी सत्तारुढ गठबन्धनको बैठकमा भाग लिन बालुवाटार पुगेका विभिन्न दलका नेताबीच चर्चा चलेको छ ।
अवस्था कति लाजमर्दो छ भने, देशको सबभन्दा पुरानो र लोकतान्त्रिक भनिएको पार्टीभित्र, कानुन र विधिको सबभन्दा खरो पक्षधर भन्दै जनतामा जाने, तर आफ्नी पत्नीसमेत फौजदारी कसुरमा तानिने भएपछि न लोकतन्त्र चाहिने, न कानुन, न त विधि नै खोजेर पाइने † कहिले छोरा र पत्नीका निम्तिसमेत छुट्टै अंगरक्षक खटाउने निर्णय क्याबिनेटबाट पास गराउने त कुनै बेला अर्धांगिनीलाई जोगाउने मूल्यमा देउवाले गरिरहनुभएको यस्तो सौदाबाजीलाई कुनै मामुली विषय बनाइन नहुने कतिपय कांग्रेस नेताहरूकै ठहर छ । ‘दुनियाँ भाँडमा जाओस्’ भन्ने तहको कामबाटै बुझ्न सकिन्छ, आधुनिक धृतराष्ट्रहरूले जीवनको उत्तराद्र्धमा कस्ता–कस्ता काम कार्य गर्दा रहेछन् ! आफ्नो कारणले जनता, कार्यकर्तामा बढेको असन्तुष्टिप्रति कुनै चिन्ता र चासो छैन ।
सुशासनका कुरा माटोमा मिले मिलोस्, तर आफ्ना मान्छेका जस्तासुकै कसुर माफ हुनुपर्छ भन्ने तहको सल्बलाहट नेताहरूमा देखिन्छ । त्यसै पनि अन्तर्राष्ट्रिय समुदायले नेपालमा भ्रष्टाचार, अनियमितता, ढिलासुस्तीका प्रश्न उठाउँदै सम्पत्ति शुद्धिकरणको मामिलालाई गहिरोसँग हेरिरहेको छ । मनी लण्डरिङसम्बन्धी अन्तर्राष्ट्रिय अध्ययन टोली नेपाल आउँदै–जाँदै गरिरहेको छ । अर्काे महिना क्यानाडा पुगेर यससम्बन्धी थप सफाइ पेश गर्न बाँकी नै छ , आतंककारी तथा अवैध तवरले आर्जित रकमको कारोबार बढ्दा नेपाल त्यसै पनि ‘ग्रे जोन’ मा पर्ने खतरा बढिरहेको छ । त्यतातिर कुनै चासो छैन । आफ्ना नागरिकलाई नक्कली भुटानी बनाएर विदेश पठाउने गिरोहमा संलग्न भएका मानिस जोगाउने ठूलो ‘खेती’ भित्रभित्रै मौलाइरहेको छ ।
भनिन्छ, देउवाको सरोकारप्रति प्रधानमन्त्री प्रचण्ड ‘बाध्यताबस’ सकारात्मक बन्दै हुनुहुन्छ । प्रचण्डले उपप्रधान तथा गृहमन्त्रीलाई यसको संकेत दिइसक्नुभएको छ । किनभने, मुद्दा अगाडि बढ्दै जाँदा आरजुसँगै खाँणपत्नी मञ्जु पनि तानिने सम्भावना छ । नारायणकाजी श्रेष्ठ यही मुद्दालाई लिएर फुर्तिफार्ती गर्दागर्दै गल्नुपर्ने स्थितिमा पुग्नुभएको छ । मुद्दामा कांग्रेस नेता मात्रै हैन, एमालेका सचिव टोपबहादुर रायमाझी पनि छन् । माओवादीबाट अहिलेसम्म कोही परेका छैनन् । यस मानेमा पनि प्रचण्ड ढुक्क देखिनुहुन्छ ।
नेताहरूका बीचमा एउटा फौजदारी कसुरलाई लिएर जे–जस्ता सहमति/विमति हुन्, त्यसले पार्ने असर भने फरक छ । अब जनताले प्रश्न गर्छन्, नेताहरूको स्वदेश–विदेशको उपचारमा कहाँबाट, कति खर्च हुन्छ ? स्रोत देखाउनुपर्दैन ? एउटा नेता विदेशमा उपचार गर्न जाँदा सार्वभौम संसदलाई हप्तौँसम्म रोकेर, छलफल हुन नदिएर बन्धक बनाइन्छ । संसद नै चले पनि एक नेताले अर्कालाई सराप्नमै समय खर्चिने गरिन्छ । राजनीतिमा इमान र छवि राम्रो भएका नेता पनि छन् । यी र यस्तै बेथितिले गर्दा पुरानो, जनमानसमा जरो गाडेर बसेका नेताको योगदानलाई मटियामेट पारिँदै छ ।
यस्तो स्थितिको निदानका निम्ति अग्रसर हुनुपर्ने मूलधारका राजनीतिक दलसम्बद्ध युवा पुस्ता पानीमरुवा प्रतित हुँदै छन् । युवाहरूले पार्टी सदस्यता नवीकरण गरेका छैनन् । विद्यार्थी नेता करोडौंको ठेक्का मिलाएर हिँडेका छन् । स्वदेशी किसानले मिहिनेतसाथ उत्पादन गरेका गोलभेंडा सडकमा पोखिएका छन्, भारतीय उत्पादनका गोलभेंडाले बजार पाएको अवस्था छ । जनतालाई राहत छैन, जीवनचर्या दुःखद भएको छ । १०–१० वर्षमा ठुल्ठूला आन्दोलन र परिवर्तन हुने देश हो यो । यसरी जनतामा असन्तुष्टि गुम्सिरह्यो भने अर्को आन्दोलन, विद्रोह नहोला भन्न सकिँदैन । देशमा रवि, बालेन, हर्क साम्पाङहरूको उदय त्यत्तिकै भएन । दलहरूचाहिँ निश्चित व्यक्तिलाई बचाउने नाममा जनतामा असन्तुष्टि बढाइरहेका छन् ।
टिप्पणीहरू