बालबालिका रिसाउने, झर्किने, एकोहोरो भएमा बुझ्नुहोस्...

बालबालिका रिसाउने, झर्किने, एकोहोरो भएमा बुझ्नुहोस्...

पछिल्लो समय विश्वका बालबालिकामा एकै खालको समस्या देखिन थालेको छ । उनीहरुमा छिनछिनमा रिसाउने, झर्किने, रुने, दोहोरो कुरा नगर्नेलगायत लक्षण देखिएको बताइएको छ । यस्तो भएमा उनीहरुमा मोबाइलको लत लागेको स्पष्ट हुन्छ ।

सोही सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकालाई मोबाइलको प्रयोग गर्ने लतबाट जोगाउन आग्रह गरेको छ । मोबाइलको लतले बालबालिकाको सर्वाङ्गीण विकासमा असर पार्ने उल्लेख गर्दै मन्त्रालयले आफ्ना बालबालिकालाई मोबाइलबाट जोगाउन अभिभावकहरुलाई सुसूचित गराएको हो । 

मन्त्रालयले अभिभावकले अत्याधिक मोबाइल प्रयोग गरेको कारण बालबालिकाले पनि त्यसैको सिको गर्ने र त्यसमा लत लाग्ने गरेको बताएको छ । मोबाइलको लत लागेका बालबालिकामा निन्द्रा ढिलो लाग्ने, निन्द्रा कम लाग्ने र निन्द्राबाट पटकपटक ब्यूझिँनेजस्ता समस्या देखिने गरेको छ ।

त्यस्तै, आफ्नो सहजताका लागि बालबालिकालाई मोबाइल देखाएर खाना खुवाउने कार्य बन्द गर्न भनिएको छ । मोबाइल देखाएर बालबालिकालाई खाना खुवाउँदा उनीहरुले आफूले के कुरा खाइरहेको छु, कस्तो स्वादको खानेकुरा खाइरहेको छु भनेर थाहा पाउँदैनन् । यसले कालान्तरमा पोषण र पाचन प्रणालीमा समस्या उत्पन्न हुन सक्ने जारी सूचनामा उल्लेख छ ।

टिप्पणीहरू