रकम फिर्ता गर्ने प्रतिद्धतासँगै देउरालीले भन्यो : उजुरी नहाल्नुस्

रकम फिर्ता गर्ने प्रतिद्धतासँगै देउरालीले भन्यो : उजुरी नहाल्नुस्

ललितपुरको देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले रकम फिर्ता गर्ने प्रतिबद्धता जनाउँदै उजुरी नहाल्न बचतकर्तासँग हारगुहार गरेको छ । 

सातदोबाटोमा केन्द्रीय कार्यालय रहेको सहकारीले रकम फिर्ताका लागि अहोरात्र खटिरहेकाले सञ्चालकविरुद्ध उजुरी नगर्न आग्रह गरेको हो । अधिकांश बचतकर्ताको रकम फिर्ता गरिसकेको दाबी गर्दै सहकारीले बाँकीको पनि छिट्टै सल्टाउने प्रतिबद्धता जनाएको छ । 

आज एक विज्ञप्ति जारी गर्दै सञ्चालक, कर्मचारी, ऋणीसमेतलाई अनुचित लेनदेनको कारोबार गर्ने र संस्थालाई समस्यामा पार्ने व्यक्तिउपर कानूनी प्रक्रिया अगाडि बढाई सत्यतथ्य बाहिर ल्याउने र बचतकर्ताको बाँकी रकम फिर्ता गरिछाड्ने उल्लेख छ । सहकारीले बचतकर्तालाई नगद तथा जग्गा जमिनबाट रकम फिर्ता गर्न संस्थाको सेवा सदस्य काउन्टर न्यूरोडबाट गरिरहेको समेत जानकारी दिएको छ । 

सहकारी समस्यामा परेपछि बचतकर्ताहरुकै समूह बनाई बचतकर्ता कृष्णप्रसाद कँडेल, नकुल आचार्य र जीवन श्रेष्ठको संयुक्त नाममा गृहम डेभलपमेन्ट कम्पनी दर्ता गरी नवलपरासीको २९ कठ्ठामा ४४ वटा घडेरी सहमतिमा पास गरिएको पनि विज्ञप्तिमा उल्लेख छ । 

नारायणदत्त जोशी, अमिर बक्स, भुपेन्द्रकुमार साह तथा सन्तोष श्रेष्ठको नाममा विराटनगरको र भीमबहादुर महर्जन, यशोदा सिलवाल, नवीन महर्जन, गोपाल महर्जनलगायतलाई ललितपुरको २५ करोड बराबरको जग्गा र बिरामी भई हस्पिटलमा उपचार भइरहेकालाई पनि पैसा दिँदै आएको सहकारीको दाबी छ ।
 

टिप्पणीहरू