मध्यरातमा एक जना उपप्रधानमन्त्री उत्तरतर्फ, अर्का पश्चिम
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ गएराति चीन प्रस्थान गर्नुभएको छ । उहाँ चीनको सिचुवान प्रान्तको छन्तु जानुभएको बताइएको छ ।
सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री पाँच दिने भ्रमणमा निस्कनुभएको हो । उहाँ मध्यरात १२ बजेको समयमा हङकङ जानुभएको हो । क्याथे प्यासिफिकको उडान नम्बर सीएक्स ६४० मा मन्त्रीसँगै परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा, गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव महेश बराल, उपप्रधानमन्त्री श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, अंगरक्षक प्रहरी नायव निरीक्षक बाबुराम खनाल काठमाडौंबाट हङक« हुँदै छन्तु गएका हुन् ।
मन्त्री श्रेष्ठ छन्तुलाई आयोजित ‘पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’ को उद्घाटन समारोहमा विशेष अतिथि बनाइएको छ । भ्रमणको क्रममा उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको सिचुवान प्रान्तका नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।
आइतबार बिहान सिचुआन एअरलाइन्सको उडानमा बिहान ११ बजे काठमाडौं आइपुुग्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । राति उहाँको बिदाईका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि चीनका राजदूत छन् सोङ, गृहसचिव दिनेश भट्टराई, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, प्रहरी महानिरीक्ष वसन्तबहादुर कुँवर, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापालगायत पुगेका थिए ।
हिजै राति उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का ओमानको राजधानी मस्कट जानुभएको छ । उहाँ राति पौने ११ बजे काठमाडौंबाट ओमान एअरको उडानमा मस्कटतर्फ प्रस्थान गर्नुभएको हो । टोलीमा पूर्वमन्त्री रघुवीर महासेठ, श्रम मन्त्रालयका सहसचिव रामचन्द्र ढकाल छन् । त्यसैगरी आभाषकुमार लभ, लक्षमी पौडेल, सुशिलप्रसाद आचार्य, सरोजप्रसाद दाहाल, सुवास थापा र रुपक लामिछाने पनि मन्त्रीसँगै मस्कट गएका हुन् ।
मन्त्रीलाई बिदाई गर्न प्रधान सेनापति प्रभुराम शर्मा, सहायक रथी नारायण सिलवाल राति विमानस्थल पुगेको बताइएको छ ।
टिप्पणीहरू