सम्बन्धनको नाममा कमाउ धन्दा गर्दै पोखरा विश्वविद्यालय

सम्बन्धनको नाममा कमाउ धन्दा गर्दै पोखरा विश्वविद्यालय

पोखरा विश्वविद्यालयको कार्यकारी परिषद्ले मिति २०७९ भाद्र २९ गते नयाँ कलेजलाई सम्बन्धन दिन र पुराना कलेजलाई विषय थप गर्न आवेदन खुलाउने निर्णय गर्‍यो । निर्णयलाई टेकेर भोलिपल्टै अर्थात् भाद्र ३० गते पोखरा विश्वविद्यालय दरखास्त आह्वान गर्न पुग्यो । जम्मा १० दिनको समय तोकेर सम्बन्धन लिन र विषय थप्न इच्छुकहरूबाट दरखास्त आह्वान भएको थियो । समय छोटो राखिएको कारण विश्वविद्यालयले छिट्टै सम्बन्धन प्रदान गर्ने अपेक्षा दरखास्तवालाले राखेका थिए तर ९ महिना पूरा भइसक्दा पनि केही शुरु गरिएको छैन । दरखास्तवालाहरूबाट उठाइएको करोडौं रूपैयाँ काखी च्यापिएको छ ।

पोखरा विश्वविद्यालयले फारम दस्तुर प्रतिविषय ४ हजार तोकेको थियो भने आवेदन फाराम शुल्क ४ हजार भए पनि प्रतिकार्यक्रम दर्ता शुल्क साधारणतर्फ ४ लाख र प्राविधिक विषयतर्फ ६ लाख रूपैयाँ थियो । चालु कलेजमा थप कार्यक्रमका लागि प्राविधिक विषय ४ लाख ५० हजार र साधारण विषय ३ लाख रूपैयाँ तोकिएको थियो । पोखरा विश्वविद्यालयले यति महँगो दर्ता शुल्क त उठायो तर सम्बन्धन दिने तर्फको काममा सिन्को भाँचिएको छैन ।

कहिले दिनुहुन्छ सम्बन्धन भन्ने हाम्रो जिज्ञासामा पोखरा विश्वविद्यालयका योजना तथा कार्यक्रम महाशाखा प्रमुख दीपक पौडेल भन्छन्, ‘यसै भन्न सकिन्न, कुनै निश्चित छैन ।’ यकिन कुरा बुझ्न भिसी र रजिष्ट्रारसँग बुझ्नु, पौडेलले सुझाए तर उपकुलपति (भिसी) प्रेमनारायण अर्यालसँग सम्पर्क हुन सकेन ।  पोखरा विश्वविद्यालयले यस्तै सूचना ०६९ सालमा पनि आह्वान गरेको थियो तर कुनै काम हुन सकेन । १० वर्षसम्म जनताको पैसा बैंकमा राखेर ब्याज खाए तर जनताको भागमा हात लाग्यो शून्य । अहिले त्यही बेला जम्मा भएको पैसा फिर्ता गर्ने कार्य भइरहेको योजना महाशाखा प्रमुख दीपक पौडेलले बताए ।  प्रधानमन्त्री अध्यक्ष रहने विश्वविद्यालयको हालत यस्तो जर्जर र नादान छ भने नेपालको विश्वविद्यालयबाट के अपेक्षा राख्ने । ०६९ सालमा गरेको आवेदनमा गरेको लगानी १० वर्षसम्म शून्यमा राख्ने ? हाल पोखरा युनिभर्सिटीअन्तर्गत ६६ कलेज छन् ।

 – यदुनाथ बञ्जारा

टिप्पणीहरू