रिक्सा चलाएर छोरालाई इञ्जिनियरिङ
बेरोजगारी समस्याले गर्दा बिदेसिने युवाको ताँती लागिरहेका बेला अटोरिक्सा व्यवसायप्रति महिलाको आकर्षण बढेको छ । काममा सानो–ठूलो केही नहुने र मिहिनेत गरे आफ्नै ठाउँमा राम्रो हुने बताउँदै अर्काको अटो भाडामा लिएर चलाउँदै आएका नेपालगञ्जका महिला हाल आएर आफ्नै सवारी किन्न कस्सिएका छन् ।
आत्मनिर्भरताको बाटोतर्फ अघि बढिरहेका महिलामध्येकी हुन्–रुकुम रातामाटाबाट श्रीमानकाे साथ बाँके झरेकी ४८ वर्षिया मीनाकुमारी खड्का । श्रीमान् मालपोत कार्यालय बर्दियामा कार्यरत भए पनि आफू खाली बस्नुभन्दा केही न केही काम गरेर सन्तानलाई पाल्नुपर्छ भन्ने हुटहुटी बोकेकी उनी कामको खोजीमा थिइन् । संयोगवश आफ्नै बहिनी ज्वाइँले नेपालगञ्जको बाँके गाउँमा अटो भाडामा दिने व्यवसाय गर्दै आएको र बहिनीले नै अन्य कामभन्दा अटो चलाउनु राम्रो हुन्छ भनेपछि आफू सो पेशामा लागेको खड्का बताउँछिन् ।
भाडाको बसाइ, त्यसैमा छोराछोरीलाई पठनपाठनदेखि खानपिन र औषधोपचारसम्म श्रीमान् एक्लैको कमाइले धान्न मुश्किल भएपछि अटो लिएर सडकमा निस्किएकी मीना दैनिक भाडा मालिकलाई बुझाएर पनि राम्रै आम्दानी भएको बताउँछिन् । श्रीमान्, दुई छोरा, एक बुहारी र एक नातिसहित ६ जनाको परिवारमा छोराहरूलाई भने इञ्जिनियरिङ पढाइरहेकी छन् ।
उनी अहिले आफैँ ९ वटा अटो रिक्साको मालिक बनी ९ वटा रिक्सा अरुलाई बहालमा दिने गरेकी छन् । एउटा रिक्साबापत ७ सय रूपैयाँ दैनिक गरी बहालबाटै ६, ७ हजार कमाउँछिन् । मीनाले ज्येष्ठ नागरिक तथा अपांगता भएका ब्यक्तिलाई निःशुल्क सेवा दिँदै आएकी छन् । एक जना प्रहरीले भाडा माग्दा नानाथरी गाली गरेर हिँडेको घटना कहिल्यै बिर्सिंदैनन् ।
त्यस्तै दाङको बिजौरीबाट आएर नेपालगञ्ज–९ मा बस्दै आएकी गीता पुन सिंह अर्की अटो रिक्सा चालक हुन् । दुई बच्चाकी आमा उनले कोठा भाडामा बस्दै आएको र आर्थिक अवस्था कमजोर भएपछि कामको खोजीमा भौंतारिँदै गर्दा अटो चलाउन थालिन् । एक वर्षदेखि यो पेशामा लागेकी उनी भन्छिन्, ‘साहुबाट दैनिक सात सय बुझाउने गरी अटो चलाउँदा भाडा कटाएर दैनिक १५ सयसम्म कमाइ हुन्छ ।’
उनीहरू जस्तै नेपालगञ्जमा महिला अटोचालक दीपा ढकाल, प्रभा रिमाललगायत १५ जना छन् । दैनिक १५ सयदेखि २५ सयसम्म कमाउने उनीहरूले घर खर्च मात्र चलाएका छैनन्, बचतसमेत गरिरहेका छन् । ती दिदीबहिनीलाई एउटै चिन्ता छ, उपमहानगरपालिकाको जोर, बिजोर नम्बर चलाउने नियम । भन्छन्, ‘यसरी जोर बिजोर चलाउँदा दैनिक काम गरेर छाक टार्ने हामीले एक दिन भोकै बस्नुपर्ने हुन्छ, त्यसैले त्यस्तो नियम नलगाइयोस् सरकार !’
टिप्पणीहरू