चिनियाँ धनाढ्य ज्याक मा किन पुगे कालिमाटी तरकारी बजार ?
हिजो काठमाडौं आइपुगेका चिनियाँ कम्पनी अलिबाबा ग्रुपका संस्थापक तथा कार्यकारी अध्यक्ष ज्याक मा कालिमाटी तरकारी बजार पुगेका छन् । टोलीका केही सदस्यसहित ज्याक आज बिहान साढे १० बजेको समयमा त्यहाँ पुगेको बताइएको छ । काठमाडौं आएको टोलीमा डेनिस चेन, वु मिङ, पौल ज्याक्सन, चेन सी, किम एल्गार्ड, जिउलिया लि निङ र पेइ वाङ छन् ।
डिजिटल भुक्तानी प्लेटफार्म अलिपे ग्लोपल मर्चेन्ट पेका समेत मालिक रहेका उनी आज बिहान कालिमाटी तरकारी बजारमा पुग्नुलाई भुक्तानी प्रणालीमा उनको चासो रहेको अनुमान गरिएको छ । अर्काथरीले नेपालको कृषि र त्यसको बजारबारे पनि उनले सोधखोज गरेको बताइन्छ ।

नेपालमा अनलाइन शपिङको निम्ति केही वर्ष अघिदेखि खुलेको दराज नेपालमा पनि अलि पे समूहको लगानी रहेको नेपाल राष्ट्र बैंक स्रोतले बताएको छ । तर विद्यमान नियमानुसार विदेशी कम्पनी वा व्यक्तिले अनलाइन शपिङ तथा डिजिटल भुक्तानी पोर्टलमा १५ प्रतिशतभन्दा बढी लगानी गर्न पाउँदैनन् ।
केही समयअघि दराज अनलाइनको तर्फबाट डिजिटल भुक्तानी कम्पनी पेमेन्ट सिस्टम प्रोभाइडर (पिएसपी) को लागि राष्ट्र बैंकमा अनौपचारिक कुराकानी भएको स्रोतको दाबी छ । तर, विदेशीले १५ प्रतिशत मात्रै लगानी गर्न पाइने विद्यमान नियमको कारण दराज पछि हटेको हो । अहिले ज्याक माको नेपाल भ्रमण, कालिमाटी तरकारी बजारको निरीक्षणलाई पनि सोही अर्थमा हेरिएको बताइन्छ ।
हालैमात्र चीनको वीच्याट पेले नेपालमा पनि सोही डिजिटल प्लाटफार्मबाट भुक्तानी गर्न मिल्ने बनाइएको छ । यसअघि अलि पे र वीच्याट पेबाट गरिने भुक्तानीलाई राष्ट्र बैंकले गैरकानुनी भनेको थियो ।
टिप्पणीहरू