कोशी सरकार ढल्ने निश्चित, त्यसपछिका सम्भावनाबारे अनेक चर्चा
नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले भोलि प्रदेशसभामा विश्वासको मत लिँदैछन् । तर, प्रदेशसभामा बहुमत जुट्ने सम्भावना क्षीण हुँदै गएकाले त्यसअगावै मुख्यमन्त्रीले राजीनामा दिने चर्चा पनि उत्तिकै छ ।
विश्वासको मत लिने प्रयोजनको निम्ति असार १४ गते विशेष अधिवेशन बोलाइएको छ । अधिवेशन शुरु भएकै दिन मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रदेश सभाको कार्यसूची छ ।
माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा गत पुस २४ गते कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । तर, जेठ १४ गते जसपाले र त्यसको एक हप्तापछि २३ गते माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका छन् । सरकारले बहुमत गुमाएपछि प्रदेशसभाको जारी अधिवेशन हतारमा स्थगित गराएर अध्यादेशमार्फत् बजेट सार्वजनिक गरेका मुख्यमन्त्री कार्कीले भोलि विश्वासको मत लिने तयारी गरेका हुन् ।
प्रदेशसभाको पछिल्लो समीकरणमा मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने सम्भावना न्यून छ । ९५ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको आवश्यकता पर्छ । तर, मुख्यमन्त्रीको पक्षमा एमालेका ४० र राप्रपाका छ जना सांसद मात्र छन् । एक मत नपुग्दा मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न मुश्किल पर्ने देखिन्छ ।
मुख्यमन्त्री कार्की सकेसम्म जसपाका एक जना सांसद फकाउने प्रयासमा तल्लिन छन् । तर, काँग्रेससहित समाजवादी मोर्चामा रहेका माओवादी, एकीकृत समाजवादी र जसपाले उनलाई मत दिने सम्भावना देखिँदैन । विपक्षी गठबन्धनले भने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा उभिने औपचारिक निर्णय गरिसकेका छन् ।
कार्की नेतृत्वको सरकार हटेपनि कोशीमा विपक्षी गठबन्धनलाई पनि बहुमत जुटाउन फलामको चिउरा चपाए सरह हुने निश्चित छ । विपक्षी गठबन्धनमा काँग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका चार र जसपा एक गरि ४६ सांसद छन् । दुवै गठबन्धनले बहुमत जुटाउन नसकेको खण्डमा माओवादीबाट निर्वाचित सभामुखको मत निर्णायक रहन्छ ।
तर, काँग्रेस–माओवादी गठबन्धन सभामुखलाई राजीनामा नगराई प्रदेश प्रमुखबाट मुख्यमन्त्री नियुक्त गराउने खेलमा रहेको बताइएको छ । राप्रपालाई भित्र्याएर सुविधाजनक बहुमत पुर्याउने प्रयत्न पनि विपक्षी गठबन्धनले गरिरहेको छ । एक जना सांसद रहेको जसपालाई अध्यक्ष उपेन्द्र यादवले एमाले नेतृत्वको सरकारमा सहभागी हुन नदिएझैँ अध्यक्ष राजेन्द्र लिङदेनले पनि राप्रपालाई नयाँ गठबन्धनमा सामेल हुन दिने सम्भावना कम छ ।
अर्कोतर्फ माओवादीले सभामुख बाबुराम गौतमलाई राजीनामा गराएमा एमालेले पनि उपसभामुख सृजना दनुवारलाई राजीनामा गराउन सक्ने सम्भावना उत्तिकै छ । त्यो स्थितिमा काँग्रेसका जेष्ठ सदस्यले संसद सुचारु गर्नुपर्ने बाध्यता आइपर्नेछ । त्यसपछि एमालेले आफ्नै सभामुख चयन गराउने प्रयत्न पनि गर्न सक्छ ।
यस्तो जटिलताका बीच कोशीमा सरकार गठनमा महाभारत हुने अवस्था उत्पन्न भएको हो । कतिपयले मध्यावधि निर्वाचनमा जाने सम्भावनासमेत देख्न थालिसकेका छन् ।
को बन्ला नयाँ मुख्यमन्त्री ?
एमाले–राप्रपाको अल्पमतको सरकार ढलेमा काँग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाले गठबन्धनको सरकार बनाउन पहल गर्नेछन् । काँग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने दाबी गरिरहेको छ । तर, काँग्रेसभित्र गुटको चर्को समस्या रहेकाले संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री बन्ने सम्भावना कम हुँदै गएको अर्को पक्षको भनाई छ ।
उता, माओवादी केन्द्रका दलका नेता ईन्द्रबहादुर आङ्बोले पनि मुख्यमन्त्रीको आश गरेका छन् । तर, १३ सिट रहेको माओवादीलाई २९ सिटको काँग्रेसले नेतृत्व दिइहाल्ने अवस्था बन्ने छैन । त्यसो त माओवादी केन्द्रभित्र पनि आङ्बोलाई मुख्यमन्त्री बनाउनु नहुने भन्नेहरुले केन्द्रीय नेतृत्वसँग लबिङ्ग गरिरहेको बुझिएको छ ।
यदी काँग्रेसका थापा र माओवादीका आङ्बो दुबै मुख्यमन्त्री नभएमा नचाहेर पनि फेरि एकीकृत समाजवादीका नेता राजेन्द्र राईले दाउ छोप्न सक्ने अनुमान उत्तिकै छ । तर, केन्द्रीय भागबण्डाको आधारमा धेरै कुराको निर्धारण गर्ने भएकाले तत्काल नयाँ मुख्यमन्त्रीबारे यसै भन्न सकिने अवस्था छैन ।
टिप्पणीहरू