पशुपतिको जलहरी अस्ति झिकियो, आज हालियो
सुनको गुणस्तर र मात्रा नाप्न झिकिएको पशुपतिनाथ मन्दिरको जलहरी पुन: स्थापना गरिएको छ ।
सोमबार सरोकारवालाहरुको रोहबरमा अख्तियारको टोलीले निकालेको जलहरी सुनको मात्रा र गुणस्तर यकीन गरेर आज साविककै अवस्थामा फर्काइएको हो ।
नापजाँच पश्चात् आज अख्तियारका सहसचिव शेरधन कार्की, नेपाल गुणस्तर तथा नापतौल विभाग, पुरातत्त्व विभाग, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधि, नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरीको सुरक्षा तथा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन थापा, पशुपतिका भट्टलगायतको उपस्थितिमा जलहरी पुन राख्ने काम भएको बताइएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष चासो र पहलमा पशुपति मन्दिरमा राखिएको जलहरीमा सुनको मात्रा र गुणस्तर कम भएको भनि उजुरी परेपछि अख्तियारले नापजाँच गरेको हो । तीन दिन लगाएर नापतौल गरेको अख्तियारले यसबारे आधिकारिक रिपोर्ट सार्वजनिक गरेको छैन ।
महालेखा परीक्षकको प्रतिवेदनमा झण्डै ११ किलो सुन बदमासी भएको उल्लेख छ । जलहरीमा प्रयोग भएको सुन र यसको परिमाणबारे संसदीय समितिले समेत विशेष चासो राखेको थियो । समितिले कोषका सदस्य सचिवलाई बोलाएर दुई साताअघि बयान लिएको थियो ।
ओली सरकारका तर्फबाट ३० करोड उपलब्ध गराएपछि कोषले ५० करोड रुपैयाँ थपेर १०८ केजीको जलहरी राख्ने निर्णय गरेको थियो ।
टिप्पणीहरू