शंकास्पद कारोबारमा मुछिएका चीन र नेपालका धनीहरुबीच रहस्यमय भेट
हिजो काठमाडौं आइपुगेका चिनियाँ धनाढ्य ज्याक मा र नेपालका विवादास्पद व्यापारी विनोद चौधरीबीच एक घण्टा गोप्यवार्ता भएको छ । निजी जेट विमानमा ढाका हुँदै नेपाल आएका माले आज दिउँसो चौधरीको निवास रवि भवन पुगेर भेट गरेका हुन् ।
दुवै जना विश्वकै डलर अर्बपतिको सूचीमा छन् । ज्याक उक्त सूचीको ६३ नम्बरमा छन् । गत वर्ष ५ नम्बरमा थिए । चौधरी भने १६४७ नम्बरमा रहेको फोर्ब्स पत्रिकाले जनाएको छ ।
चिनियाँ कम्पनी अलिबाबा ग्रुपका संस्थापक तथा कार्यकारी अध्यक्ष ज्याक मा आज बिहान कालिमाटीको तरकारी बजार अवलोकन गर्न गएका थिए । त्यसपछि स्वयम्भू दर्शन गर्न पुगे । दिउँसो रवि भवनस्थित चौधरीको घरमा पुगे ।
उनीहरुबीच आज चितवनको मेघौलीस्थित मेघौली सेरईमा भेट गर्ने कार्यक्रम थियो । तर, उक्त कार्यक्रम रद्द गरेर चौधरीको घरमा भलाकुसारी भएको हो । उक्त रिसोर्ट चौधरीको हो ।
चौधरीको आर्थिक कारोबारमध्ये आजसम्म ९० प्रतिशतभन्दा बढी अपारदर्शी छ । पटक पटक कर छलेको, राजश्व नतिरेको, आम्दानीको यथार्थ विवरण नदेखाएको र नबिल बैंकको करोडौं लाभांश गैरकानुनी तरिकाबाट डलरमा विदेश पुर्याएको आरोपमा चौधरीमाथि सरकारी निकायले छानबिन गरेका छन् । पछिल्लो दिन सिजी सिमेन्टमा लगानी गरिएको १२ करोड रुपैयाँको वैधतामाथि पनि नेपाल राष्ट्र बैंकले प्रश्न उठाएको छ ।
उता ज्याकलाई पनि चीन सरकारले सन् २०२१ मा अलिबाबा कम्पनीका कतिपय आर्थिक कारोबारमाथि शंका गर्दै ठूलो रकम जरिवाना तिराएको थियो । त्यतिबेला २ अर्ब ८० करोड डलर जरिवाना तिरेपछि उनी सार्वजनिक जीवनबाट टाढा बसेका थिए । पछिल्लो समय उनी जापानको राजधानी टोकियोमा बस्ने गर्छन् । उनको अलिबाबा र टेन्सेन्ट कम्पनी पछिल्ला प्रविधि कम्पनीहरुमध्ये चीन र विश्वमा निकै प्रख्यात छन् ।
चौधरीले डिजिटल पेमेन्टलगायत विभिन्न प्राविधिक विषयमा साझेदारीको निम्ति मासँग प्रस्ताव गरेको उच्च स्रोतको दाबी छ । भलै चौधरीको भारतीय र दक्षिण कोरियाली कम्पनीसँग निकट सम्बन्ध रहेकाले ज्याकले तत्काल उनलाई विश्वास गरिहाल्ने अवस्था भने देखिँदैन ।
चिनियाँ धनाढ्यले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट्ने कार्यक्रम रहेको बताइएको थियो । भक्तपुर दरवार स्क्वायर घुमेर होटल छिरेका माको साँझ साढे ६ बजेसम्म प्रधानमन्त्रीसँग भेट भएको छैन ।
टिप्पणीहरू