राष्ट्रिय राजमार्गमा बनेका संरचना हटाउन सडक डिभिजनको ३५ दिने सूचना
सडक डिभिजन कार्यालय जुम्लाले राष्ट्रिय राजमार्ग अतिक्रमण गरेर बनाइएको भौतिक संरचना हटाउन निर्देशन दिएको छ । आफ्नो कार्यक्षेत्रभित्र पर्ने कर्णाली राजमार्गको खुलालुदेखि नाग्मासम्म, नाग्मा-खलङ्गा र नाग्मा-गमगढी हुँदै नाक्चालाग्ना सडकखण्डको सीमामा बनाइएको भौतिक संरचना हटाउन सडक डिभिजनले निर्देशन दिएको हो ।
होटल व्यवसायी, मदिरा उत्पादनकर्ता एवं डिलरहरुले राजमार्गको सीमा क्षेत्रभित्र होर्डिङ्ग बोर्ड राख्नुको साथसाथै घरटहरा निर्माण गरेको डिभिजनले जनाएको छ । आज सूचना जारी गर्दै ती घरटहरालगायत अन्य संरचना र बोर्डहरु सुरक्षाको दृष्टिकोणले अत्यन्त जोखिमपूर्ण रहेकाले ३५ दिनभित्र हटाउन सडक डिभिजनले सम्बन्धित पक्षलाई निर्देश गरेको हो ।
सूचनामा भनिएको छ,‘सडक सीमाभित्र बनेका स्थायी तथा अस्थायी घरटहरा, अन्य संरचनाहरु तथा होर्डिङ बोर्डहरु सडक सुरक्षाको दृष्टिकोणले जोखिमयुक्त हुनाले त्यस्ता घरटहरालगायत मदिराजन्य होर्डिङ विज्ञापन बोर्डहरु यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र हटाउन सूचना प्रकाशित गरिएको छ ।’
सडक सीमाभित्र स्थायी तथा अस्थायी घरटहरा निर्माण गर्न, नाली पुरेर प्रवेश मार्ग बनाउन, सडक संरचना भत्काउन, ढल तथा पानीसडक तथा सडक किनारको नालामा मिसाउन, यातायात सञ्चालन एवं सडक प्रयोगकर्तालाई अवरोध पुग्ने कार्य गर्न सार्वजनिक सडक ऐन, २०३१ ले निषेध गरेकोबारे डिभिजनले सुसूचितसमेत गराएको छ ।
त्यस्तै, तोकिएको समयभित्र ती संरचना नहटाएमा सार्वजनिक सडक ऐन, २०३१ को दफा १८ (३) अनुसार हटाइने र सो हटाउन लाग्ने खर्च सम्बन्धित पक्षबाट उठाउने चेतावनी दिइएको छ ।
टिप्पणीहरू