अग्नि सिमेन्टका साहुजीको छोराको विवाहमा नक्कली मदिराको खोलोे !

अग्नि सिमेन्टका साहुजीको छोराको विवाहमा नक्कली मदिराको खोलोे !

रुपन्देहीको भैरहवास्थित पौवा होटलमा आयोजित विवाह भोजमा प्रयोग गरिएको अवैध मदिराबारे आन्तरिक राजस्व कार्यालय, भैरहवाले अनुसन्धान अघि बढाएको छ । 

गत शुक्रबार भएको भोजमा भारतबाट अवैध रुपमा ल्याइएको मदिराको प्रयोग गरिएको आशंकापछि अनुसन्धान अघि बढेको हो । गोप्य सूचनाका आधारमा कार्यालयले अनुसन्धान थालेको बताएको छ । कार्यालय प्रमुख शान्तिराम निरौलाले अवैध मदिराको प्रयोग भएको पुष्टि गर्ने केही प्रमाण फेला परेको जानकारी दिएका छन् । 

अनुसन्धानको क्रममा भारतबाट चोरीपैठारी गरिएका विभिन्न नामका रक्सीका बोतल फेला परेको हो । रेड लेबल ‘ह्विस्की’ को ५८ र एब्सुल्युट भोड्काका १० खाली बोतल बरामद गरिएको बताउँदै उनले भने, ‘अनुसन्धान शुरु गरिसकेका छौं । प्रारम्भिक तहमा होटल व्यवस्थापकलाई बोलाएर बयान लिने काम भइरहेको छ ।’

अग्नि सिमेन्टका सञ्चालक एवम् अग्नि ग्रुपका निर्देशक राजकुमार पोखरेलले आफ्नो छोराको विवाहमा अवैध रुपमा भित्र्याइएको रक्सीको प्रयोग गरेको स्रोतको दाबी छ । यता, होटलका ब्राण्ड म्यानेजर विष्णु भण्डारीले उक्त रक्सी होटलको तर्फबाट उपलब्ध नगराइएको दाबी गरेका छन् । 

रक्सी होटलबाट उपलब्ध नगराइएको र त्यसबारे होटललाई कुनै जानकारी नभएको उनको जिकिर छ । ग्रुपका निर्देशक पोखरेलले पनि उक्त मदिरा आफ्नो पार्टीमा प्रयोग नभएको ठोकुवा गरे । ‘सो दिनका लागि मैले मदिरा भाटभेटनी र स्थानीय पसलबाट खरिद गरेको हुँ । चाहिएको खण्डमा बिल देखाउन तयार छु’, उनले भने । 

विदेशबाट आउँदा एक जना यात्रुले एक लिटरभन्दा बढी मदिरा ल्याउन नपाउने कानुनी प्रावधान छ । व्यवसायिक रुपले मदिरा आयात गर्दा अन्तःशुल्क कार्यालयमा अनिवार्य दर्ता गर्नुपर्छ । तर, सीमा नजिकैको भैरहवा हुँदै रुपन्देहीमा भारतबाट सहज रुपमा अवैध मदिरा भित्रिने गरेको छ ।

टिप्पणीहरू