कोशीमा जसपा कतै नलाग्ने

कोशीमा जसपा कतै नलाग्ने

कोशी प्रदेश सरकारको सन्दर्भमा जनता समाजवादी पार्टी (जसपा) तटस्थ बस्ने भएको छ । 

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशसभामा राख्ने विश्वासको मतसम्बन्धी प्रस्तावमा जसपाले तटस्थ बस्ने निर्णय लिएको हो । आज बसेको पार्टीको प्रदेश कमिटी बैठकले मुख्यमन्त्री कार्कीको पक्ष वा विपक्षमा मतदान नगर्ने निर्णय नगरेको अध्यक्ष दीपक याख्याले जानकारी दिए । 

प्रदेशको नामाकरण सम्बन्धमा पहिचानको मुद्दा सम्बोधन गरेर पुनः प्रदेशको नामाकरण गर्नेबारे राजनीतिक आधार नभएसम्म कसैको पक्ष वा विपक्षमा मतदान नगर्ने र तटस्थ रहने जसपा बैठकले निर्णय गरेको हो ।

प्रदेशका रैथाने पहिचानहरुलाई समाप्त पार्ने षड्यन्त्र गरी प्रदेश नम्बर १ को नामाकरण जालझेलपूर्ण तरिकाले कोशी राख्ने र त्यसविरुद्ध पहिचान पक्षधर जनताले गरेको शान्तिपूर्ण आन्दोलनमाथि बर्बर दमान गर्ने एमाले नेतृत्वको कार्की सरकारलाई समर्थन गर्न नसकिने उनले प्रष्ट पारे । 

साथै, पहिचानको मागलाई नजरअन्दाज गरेर कोशी नामाकरणको पक्षमा मतदान गर्ने दलहरुप्रति पनि विश्वस्त हुनसक्ने राजनीतिक आधार नदेखिएकाले विपक्षी गठबन्धनलाई पनि साथ दिन नसक्ने अध्यक्ष याख्याले बताए ।

सत्ता र विपक्षी दुबै गठबन्धनसँग समान ४६ सांसद रहेको प्रदेशसभामा सरकार गठनका लागि जम्मा एकजना सांसद रहेको जसपा निर्णायक छ । प्रदेशसभामा मुख्यमन्त्री कार्कीलाई एमालेका ४० र राप्रपाका ६ सांसदको समर्थन छ भने काँग्रेसका २९, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका चार सांसद विपक्षमा छन् । 

कांग्रेस, माओवादी, एकीकृत समाजवादीले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने औपचारिक निर्णय गरिसकेका छन् । 

माओवादी केन्द्र र जसपाले समर्थन फिर्ता लिएपछि कोशी सरकार अल्पमतमा छ । अल्पमतमा परेपछि प्रदेशसभाको जारी अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याएका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने प्रयोजनार्थ विशेष अधिवेशन बोलाइएको छ ।

टिप्पणीहरू