विश्वासको मत नपाए सदन भंग गर्ने मुख्यमन्त्रीको चेतावनी

विश्वासको मत नपाए सदन भंग गर्ने मुख्यमन्त्रीको चेतावनी

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूले विश्वासको मत नपाए प्रदेशसभा विघटन गर्ने चेतावनी दिएका छन् । 

आज बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले आफूलाई विश्वासको मत दिन आग्रह गरे । आफूले नराम्रो काम गरेको भए देखाउन चुनौती दिँदै मुख्यमन्त्री कार्कीले विश्वासको मत दिन आग्रह गरेका हुन् । अन्यथा अर्को सरकार पनि बन्न नसक्ने भएकाले मध्यावधि निर्वाचनको सामना गर्नुपर्ने उनको दाबी छ । 

आफूलाई विश्वासको मत नदिएर मध्यावधि निर्वाचनमा जान तयार भएको हो ? भनि प्रश्न गरेका मुख्यमन्त्री कार्कीले पाँच वर्षसम्म राख्न नसकेको प्रदेशको नाम आफ्नो नेतृत्वमा राख्न सफल भएको बताए । साथै प्रदेशको नामाङ्कनको विषयमा भएको विवाद समाधानका लागि छलफल सुरु भएको उनको भनाई छ ।

सत्ता र विपक्षी दुबै गठबन्धनसँग समान ४६ सांसद रहेको प्रदेशसभामा एक सांसद रहेको जसपाले विश्वासको मनसम्बन्धी प्रस्तावमा तटस्थ बस्ने निर्णय गरेपछि प्रदेशसभा विघटनको संघारमा पुगेको टिप्पणी भइरहेको छ । यस्तो स्थितिमा मुख्यमन्त्री कार्कीले आफूले विश्वासको मत नपाए सदन भंग हुने घुमाउरो चेतावनी दिएका हुन् ।

टिप्पणीहरू