गुरुपूर्णिमा पर्सि, जनप्रभातका गुरुहरुको सम्मान आजै
राजधानीको कालिमाटीस्थित जनप्रभात माध्यमिक विद्यालयले गुरुपूर्णिमाको अवसरमा आज विशेष कार्यक्रमको आयोजना गर्दै छ । बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म विद्यालय प्राङ्गणमा कार्यक्रम गर्न लागिएको बताइएको छ ।
सो अवसरमा पूर्व गुरुवर्गको सम्मान गर्ने जनाइएको छ । त्यस्तै, पूर्व विद्यार्थीको पुनर्मिलन कार्यक्रम पनि आजै राखिएको छ । कार्यक्रममा समयबजी डिनरको व्यवस्था गरिएको छ । बिहान ११ बजेदेखि साढे १ बजेसम्म भूतपूर्व विद्यार्थीहरुको सांगीतिक कार्यक्रम, २ बजेसम्म समयबजी, साढे ३ बजेसम्म औपचारिक कार्यक्रम, साढे ४ बजेसम्म विद्यार्थी र शिक्षकबीच फोटो सेसन र ५ बजेदेखि डिनर शुरु हुने जानकारी दिइएको छ ।
कार्यक्रममा सहयोगस्वरुप शिक्षक, विद्यार्थीलगायतबाट एक हजार रुपैयाँका दरले उठाइएको छ । त्यसैगरी, प्रवेशका लागि अनिवार्य टिकट लिनुपर्ने व्यवस्था गरिएको छ । पात्रो अनुसार गुरु पूर्णिमा पर्सि परेको हो । तर, विद्यालयमा आजै सम्मान कार्यक्रम राखिएको हो ।
‘गुरुपूर्णिमाको पावन अवसरमा पूर्व गुरु वर्गको सम्मान कार्यक्रम तथा पूर्व विद्यार्थीको पुनर्मिलन कार्यक्रममा यहाँको सहभागिताको लागि अनुरोध गर्दछौं’, विद्यालयले जारी गरेको सूचनामा भनिएको छ । यस विषयमा विद्यालयका प्रधानाध्यापक सत्येन्द्रलाल कर्णले कार्यक्रम विद्यालयको तर्फबाट नभई भूपू विद्यार्थीहरुले आयोजना गरेको बताए ।
उनका अनुसार अधिकांश विद्यार्थी जागिरे भएकाले छुट्टीको समय पारेर कार्यक्रमको आयोजना गरिएको हो । विद्यालयका शिक्षकहरुलाई सम्मान कार्यक्रम राखिएको उल्लेख गर्दै उनले भने, ‘भूपू विद्यार्थीहरुले कार्यक्रमको आयोजना गरेका हुन् । तर, गुरु पूर्णिमाका दिन अधिकांशको छुट्टी मिलेन् । त्यसैले, उनीहरुले आजै कार्यक्रम राखेका हुन् । गुरुको सम्मान गर्न गुरुपूर्णिमा नै हुनुपर्छ भन्ने छैन ।’
टिप्पणीहरू