झ्यालखानामा रहेका बालकृष्णका भाइले राजनीतिक अराजकता निम्त्याएको आरोप
नेपाली काँग्रेस रुपन्देहीमा भाँडभैलो मच्चिएको छ । काँग्रेसभित्र दुई समूहको सशक्त उपस्थिति देखिएपछि क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनमा संस्थापन पक्षका विद्यार्थी नेताहरुले कार्यक्रम बिथोल्ने प्रयास गरेका हुन् ।
बुटवलको अमरपालि होटलमा आयोजित कार्यक्रममा काँग्रेस रुपन्देहीका सभापति तथा नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणका भाइ रामकृष्ण खाणले मन्तव्य राखेपछि अर्को समूहले कार्यक्रम बिथोल्ने प्रयास गरेका हुन् । संस्थापन पक्षधर नेपाल विद्यार्थी संघ, रुपन्देहीका सभापति सन्दिप पौडेललगायत विद्यार्थी नेताहरुले आफूहरुलाई आसनग्रहण नगराएको आरोपमा हिजो कार्यक्रम बिथोल्ने प्रयास गरेका थिए ।
झण्डै हात हालाहालको स्थिति सिर्जना भएपछि संस्थापन समूहका विद्यार्थी नेताहरुले कार्यक्रमस्थलमा नाराबाजी गर्दै ब्यानर च्यातेका हुन् । उनीहरुले कुर्सी भाँच्ने प्रयास गरेको बताइन्छ ।
केन्द्रीय सहमहामन्त्री जीवन परियार प्रमुख अतिथि रहेको कार्यक्रममा आमन्त्रण नै नगराइएका व्यक्तिहरुले आसनग्रहण नगराएको भन्दै कार्यक्रम बिथोलेर अराजकता निम्त्याएको खाण पक्षधरहरुको आरोप छ । संस्थापन इतरले विद्यार्थी नेताहरुले रुपन्देही सभापति रामकृष्ण खाँणको आडमा राजनीतिक अराजकता निम्त्याएको बताएका छन् ।
कार्यक्रम बिथोलिएपछि नेता परियार र खाँणबीच फोनमा भनाभन भएको स्रोतको दाबी छ । परियारले पार्टीमा अराजकता ननिम्त्याउन खाँणलाई आग्रह गरेका थिए । विवाद बढेपछि प्रहरी परिचालन गरेर कार्यक्रम सुचारु गराइएको थियो ।
टिप्पणीहरू