च्याउ खाँदा होस् पुर्याउन स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जथाभावी च्याउ नखान सचेत गराएको छ । वर्षा याममा पाइने जंगली च्याउ विषालु हुने भएकाले मन्त्रालयले त्यस्तो च्याउ नखान सर्वसाधारणलाई सतर्क गराएको हो ।
मन्त्रालयका अनुसार जंगली च्याउहरु विषालु हुने भएकाले यो खाँदा गम्भिर बिरामी हुने र मृत्युसमेत हुन सक्छ । साथै, पकाउँदा समेत यीनीहरुको विष कम नहुने नहुँदा यस्ता च्याउ नछुन र नखान मन्त्रालयको आग्रह छ ।मानव शरीरका लागि च्याउ अति उत्तम पौष्टिक आहार हो । च्याउमा प्रोटिन, भिटामिन, मिनरल्स, क्याल्सियम आदि तत्व पाइन्छ । तर, त्यँही च्याउ जथाभावी खाँदा विषको रुपमा परिणत हुने गर्दछ । विशेषगरी जंगली च्याउ बढी विषालु हुने गर्छ ।
कतिपय अवस्थामा च्याउको जात सामान्यतया झट्ट हेर्दा उस्तै–उस्तै देखिने हुँदा कुन विषालु भएको हो र कुन होइन भनेर छुट्याउन निकै कठिन हुने गर्छ । हेर्दा आकर्षक लाग्ने, रंगीन च्याउ विषालु हुन्छ । हलक्क र रहरलाग्दो देखिन्छ । यी च्याउमा हत्तपत्त किरा लाग्दैन । निचोर्दा सेतो दूध निस्कन्छ ।
नेपालको ग्रामीण भेगमा आर्थिक अभावका कारण दैनिक छाक टार्ने क्रममा पोषिलो खाना खोज्दै गर्दा च्याउलगायतका बनका कन्दमूल खानुपर्ने बाध्यता छ । यसैले, अधिंकाश मानिसहरु बिहानबेलुकाको छाक टार्ने क्रममा जंगली च्याउ खाई मृत्युसमेत हुने गरेको घटना धेरै छन् ।
टिप्पणीहरू