ललिता निवास प्रकरणमा बाबुराम भट्टराईको प्रश्टोक्ति - म र मेरा निकट कसैको संलग्नता छैन, पहिल्यै बयान दिएको छु

ललिता निवास प्रकरणमा बाबुराम भट्टराईको प्रश्टोक्ति - म र मेरा निकट कसैको संलग्नता छैन, पहिल्यै बयान दिएको छु

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा आफ्नो संलग्नता नरहेको पुन: दोहोर्याउनु भएको छ । 

वालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा आफ्नो नाम जोडिएपछि आज सामाजिक सञ्जालमार्फत प्रष्टीकरण दिनुभएका उहाँले आफ्नो संलग्नता नरहेको बताउनुभएको हो । १९ महिने आफ्नो प्रधानमन्त्रीकालमा सयौं प्रक्रियागत निर्णय भएको उल्लेख गर्दै डा. भट्टराईले उक्त प्रकरणमा आफू र  आफ्नानिकट कुनैपनि व्यक्तिको स्वार्थ नजोडिएको दाबी गर्नुभयो । 

कसैले आजसम्म आफूमाथि आरोप नलगाएको बताउँदै उहाँले ट्वीटरमा लेख्नुभएको छ, ‘ललिता निवाससम्बन्धी प्रस्ताव भूमि व्यवस्था मन्त्रालयबाट आएर मन्त्रिपरिषद्को सामाजिक समितिमा छलफलपछि पारित भएजस्तो लाग्छ । मलाई हल्का सम्झना भएसम्म राज्यको समरजंग कम्पनीको नाममा दर्ता भएको करिब तीन रोपनी जग्गा पशुपति टिकिन्छा गुठीको भन्ने भएकाले वास्तविक तथ्य प्रमाण अभिलेख जाँचबुझ गरी नियमअनुसार गर्ने वा यस्तै आशयले नीतिगत निर्णय भएजस्तो लाग्छ । यो कुरा मैले अख्तियारको टोलीले केही वर्ष लिएको बयानमा पनि भनेको छु ।’

त्यस्तै, ड. भट्टराईले सरकारसँग ललिता निवाससहित अन्य भ्रष्टाचारका काण्डमा निष्पक्ष छानबिन गर्न पनि माग गर्नुभएको छ । सरकारी सम्पत्ति निजी लाभको निम्ति दोहन गर्ने र शक्तिको दुरुपयोग गर्ने प्रवृत्ति भयंकर रुपले झाँगिएको बताउँदै उहाँले भ्रष्टाचारका दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ भनि सदनदेखि सडकसम्म आफूले आवाज उठाउँदै आएको उल्लेख गर्नुभएको छ । 

‘देशमा राज्यको सम्पत्ति निजी लाभको निम्ति दोहन गर्ने र शक्तिको दुरुपयोग गर्ने प्रवृत्ति भयंकर रुपले झाँगिएको स्थितिमा ललिता निवासलगायत सबै भ्रष्टाचारका काण्डहरुको निष्पक्ष छानबिन होस् र दोषीलाई कडाभन्दा कडा कारबाही होस् भन्ने कुरा मैले संसदमा र बाहिर पनि निरन्तर उठाउँदै आएको छु', डा. भट्टराईले ट्वीटरमा लेख्नुभएको छ 'त्यसमा म आजीवन प्रतिबद्ध रहनेछु ।’ 

साथै, उहाँले यस प्रकरणलाई छिटो टुंगोमा पुर्याउन मागसमेत गर्नुभएको छ ।

 

टिप्पणीहरू