वकिल समातिएको विरोधमा अदालतका बेञ्च बहिष्कार
ललितपुर जिल्ला अदालतमा कार्यरत नासु प्रेमिका तामाङलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका कानुन व्यवसायीको रिहाइ गर्न माग गर्दै नेपाल बार एशोशिएसनले इजलास बहिष्कार गरेको छ ।
कानुन व्यवसायीहरुको छाता संगठन बारले सो घटनाको विरोधमा आज दिउँसोदेखि अर्को निर्णय नभएसम्मका लागि अदालती प्रक्रियामा सामेल नहुने र बहस–पैरवी नगर्ने निर्णय गरेको हो । सोहीअनुसार बारका विभिन्न जिल्ला समितिहरुले इजलास बहिष्कार गर्ने निर्णय गरेका छन् ।
बारको उच्च अदालत जनकपुर अस्थायी इजलास समितिले विज्ञप्ति निकालेर केन्द्रीय निर्देशन मुताविक बहस पैरवीमा सहभागी नहुने प्रष्ट पारेको छ । त्यस्तै, भक्तपुर जिल्ला बारले पनि कानुन घटनाको विरोधमा वक्तव्य निकालेको छ । नासु प्रेमिकामाथि हातपात गरेको आरोप लागेका कानुन व्यवसायी अमिर लामिछाने उल्टै पीडित भएको दाबीसमेत भक्तपुर बारले गरेको छ ।
त्यस्तै, बारा जिल्ला समितिले पनि अर्को निर्णय नहुँदासम्म कानुन व्यवसायीहरु बेञ्चमा बहस गर्न नजाने प्रष्ट पारेको छ । यता, ललितपुर बारले पनि बेञ्च बहिष्कारको निर्णय सार्वजनिक गरेको छ । सचिव छोनम मोक्तानले जिल्ला अदालतमा भएको घटनामा कानुन व्यवसायीलाई एकतर्फीरुपमा दोषी देखाउने काम भएको भन्दै आजको पेसी बहसमा सहभागी नहुने जानकारी गराए ।
नासु प्रेमिकालाई दुर्व्यवहार गरेको विषयमा कानून व्यवसायी अमिर लामिछाने प्रहरी हिरासतमा छन् । यसअघि उनीमाथि कारवाहीको माग गर्दै देशभरका अदालतका कर्मचारीहरु आन्दोलनमा उत्रिएका थिए ।
टिप्पणीहरू