कोशीमा सरकार बनाउन पाँच दिनको म्याद

कोशीमा सरकार बनाउन पाँच दिनको म्याद

कोशी प्रदेशमा सरकार गठनका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख परशुराम खापुङले पाँच दिनको समय दिएर नयाँ सरकार गठनका लागि दाबी पेश गर्न दलहरुलाई औपचारिक आह्वान गर्नुभएको छ । 

प्रदेश प्रमुखका तर्फबाट प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले विज्ञप्ति जारी गर्दै संविधानको धारा १६८ को उपधारा २ वा ३ बमोजिम मुख्यमन्त्री नियुक्ति गरी सरकार गठन गर्नका लागि दलहरुलाई दाबी पेश गर्न भनेका छन् । विज्ञप्तिमा आगामी असार २१ गते अपरान्ह ५ बजेसम्ममा दाबी पेश गरिसक्न भनिएको छ ।

यस धारामा कुनै पनि दलको स्पष्ट बहुमत नभएको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति गर्न सक्ने व्यवस्था छ । तर, कोशी प्रदेशमा कुनै पनि गठबन्धनसँग स्पष्ट बहुमत छैन । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकार अस्ति विश्वासको मत लिन नसकेपछि ढलेको थियो ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ प्रदेशसभा सदस्यको आवश्यकता पर्छ । तर, एमाले–राप्रपा गठबन्धनसँग ४६ सांसद छन् भने काँग्रेस–माओवादी गठबन्धनसँग पनि सोही संख्यामा सांसद रहेका छन् । जसका कारण सरकार गठन प्रक्रिया पेचिलो हुने देखिएको छ ।

टिप्पणीहरू