तिनाउमा बाढी, जलसतह खतराको तहभन्दा माथि

तिनाउमा बाढी, जलसतह खतराको तहभन्दा माथि

निरन्तर वर्षापछि तिनाउ नदीमा पानीको बहाव बढेर खतराको सतह पार गरेको छ । रूपन्देही जिल्ला प्रशासनले नदी खतराको सतहभन्दा माथि गएकाले जिल्लाका सबै स्थानीय तहलाई यसबारे जानकारी गराउँदै सतर्क रहन आग्रह गरेको छ । 

आज बिहान साढे ३ बजे तिनाउले खतराको तह पार गरेको हो । रुपन्देही, पाल्पालगायत आसपासका जिल्लामा निरन्तर वर्षा भएकाले तिनाउ नदीमा पानीको सतह निकै बढेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुटवलस्थित बाढी मापन केन्द्रका अनुसार तिनाउमा बिहान पानीको सतह ७.२२ मिटर पुगेको छ । 

महाशाखाका अनुसार जलसतह ५.२ मिटरमा पुगेपछि सतर्कता अपनाउनुपर्ने हुन्छ । सतह ५.६ मिटरमाथि पुगेपछि खतराको संकेत मानिन्छ । तिनाउ नदीको जलसतह बढेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो । 

केन्द्रले बिहान ९ बजेसम्म जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा गइसक्न अनुरोध गरेको छ । तिनाउ नदीले खतराको तह पार गरेपनि अहिलेसम्म मानवीय र भौतिक क्षतिको कुनै सूचना प्राप्त नभएको रुपन्देही प्रहरीले जनाएको छ । 

तिनाउलगायत रुपन्देहीका अन्य नदीमा पनि पानीको बहाव बढेकाले नदी किनारका सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेयले बताए । जिल्लास्थित तीनै वटा सुरक्षा निकायलाई समेत तयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।

टिप्पणीहरू