वकिलहरूले आज पनि सबै अदालतमा विरोध कार्यक्रम गर्ने

वकिलहरूले आज पनि सबै अदालतमा विरोध कार्यक्रम गर्ने

नेपाल बार एशोसिएशनले आज पनि सबै अदालतमा विरोध प्रदर्शन गर्ने भएको छ । आफ्ना मागको उचित सम्बोधन नभएसम्म विरोध कार्यक्रम जारी रहने बारले जनाएको छ । 

जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङ र अधिवक्ता अमिर लामिछानेबीचको विवादपछि भएको हात हालाहालको घटनालाई लिएर कानुन व्यवसायीहरु आन्दोलनमा उत्रेका हुन् ।

गत बुधबार जिल्ला अदालत ललितपुरमा कार्यरत नायव सुब्बा तामाङमाथि लामिछानेले आक्रमण गरेको भन्दै देशभरका अदालतका कर्मचारीले अस्ति अदालतको काम ठप्प पारेका थिए । बारले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा हिजो बहसपैरवी नगरेर विरोध जनाएको हो ।

उनीहरुले लामिछानेविरुद्ध लगाइएको मुद्दा झुठो भएकाले अविलम्ब खारेज गर्नुपर्ने माग राखेका छन् । कानुन व्यवसायीहरुले अदालतभित्रको मुद्दालाई समाधान गर्न नसक्ने जिल्ला अदालत ललितपुरका मुख्य न्यायाधीशको तत्काल सरुवा हुनुपर्ने माग उठाएका छन् ।

सोही क्रममा उनीहरुले आज पनि मुलुकभरका अदालतमा विरोध कार्यक्रम राखेका छन् । सेवाग्राही र अदालतको नियमित काम कारबाहीमा असर नपुग्ने गरेर दिउँसोको खाजा समय वा अन्य उपयुक्त अवसरमा मुलुकभरका अदालतमा विरोध कार्यक्रम आयोजना गर्न नेपाल बारले सम्पूर्ण इकाइहरुलाई निर्देशन दिएको छ ।

टिप्पणीहरू