ऋण नतिर्नेलाई कालोसूचीमा राख्नु बैंकहरुको ज्यादती : उद्योग वाणिज्य संघ

ऋण नतिर्नेलाई कालोसूचीमा राख्नु बैंकहरुको ज्यादती : उद्योग वाणिज्य संघ

उद्योग वाणिज्य संघ धनकुटाले बैंक तथा वित्तिय संस्थाहरुको ज्यादती अविलम्ब रोक्नुपर्ने बताएको छ । जिल्लास्थित बैंक तथा वित्तिय संस्थालाई ज्ञापनपत्र बुझाउँदै संघले ऋणको किस्ता समयमा बुझाउन नसक्ने व्यवसायीलाई कालोसूचीमा राख्ने, सम्पत्ति लिलाम गर्ने प्रक्रिया अविलम्ब रोक्नुपर्ने माग गर्दै ब्याजदर घटाउन आग्रह गरेको छ । 

संघले चरम आर्थिक संकटका कारण उद्योग, व्यापार, व्यवसाय ठप्प हुँदै गएको उल्लेख गर्दै बैंक तथा वित्तिय संस्थाहरुले कालोसूचीमा राख्ने, लिलाम गर्ने कार्यले उद्योगीहरु प्रताडित भई आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेको बताएको छ । 

‘आर्थिक संकटका कारण उद्योग, व्यापार, व्यवसाय सञ्चालन गर्न समस्या भई व्यापार, व्यवसाय ठप्प हुँदै गएकोले उद्योगी, व्यवसायीहरुले बैंक तथा वित्तिय संस्थाहरुबाट लिएको ऋणको किस्ता समयमा बुझाउन नसक्ने अवस्था भएकोले बैंक तथा वित्तिय संस्थाहरुले अहिले कालोसूचीमा राख्ने, लिलाम गर्ने कार्य भैरहेकोले उद्योगी, व्यवसायीहरु प्रताडित भई आत्महत्या गर्न बाध्य भएका छन्,’ ज्ञापनपत्रमा भनिएको छ । 

संघले आफ्ना मागलाई बेवास्ता गरेमा बैंकमा बचत नगर्ने भन्दै बैंक तथा वित्तिय संस्थाविरुद्ध धर्ना, घेराउ र तालाबन्दी गर्ने आन्दोलनका कार्यक्रम समेत सञ्चालन गर्न बाध्य हुने चेतावनी दिइएको छ । 

‘उद्योगी व्यवसायीहरुका लागि जीवन रक्षाको लागि समेत बैंक तथा वित्तिय संस्थाहरुलाई व्यवसायीहरुलाई कालोसूचीमा राख्ने लिलाम गर्ने प्रक्रिया अविलम्ब रोक्न साथै ब्याजदर घटाउन जोडदार माग गर्दछौं,’ ज्ञापनत्रमा भनिएको छ, ‘हाम्रो यो मागलाई बेवास्ता गरेमा हामी उद्यमी, व्यवसायीहरु बैंकमा बचत नगर्ने र बैंक तथा वित्तिय संस्थाहरुविरुद्ध धर्ना, घेराउ र तालाबन्दी गर्ने आन्दोलन कार्यक्रमसमेत सञ्चालन गर्न बाध्य हुनेछौं ।’

टिप्पणीहरू