कहाँ पुग्यो फेरि कम्युनिष्ट मिलाउने कुरो
टुटफुट, विभाजन र एकता नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवृत्ति हो । कमा र फुलिस्टपको बहसमै विभाजित हुने कम्युनिष्टलाई आत्मालोचनाको सामान्य त्यान्द्रोले पनि जोड्ने गरेको छ । नेपालको कम्युनिष्ट आन्दोलन विभाजन र एकताको यही श्रृंखलाबाट गुज्रिँदै आएको छ ।
एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता र विभाजन यसको पछिल्लो उदाहरण हो । संगठन र जनमतका दृष्टिले मात्र नभई प्रवृत्तिगत धाराका हिसाबले पनि यी दुई पार्टीको एकता कम्युनिष्ट आन्दोलनको इतिहासमा आफैँमा महत्वपूर्ण थियो । जनताबाट समेत अनुमोदित दुई पार्टीको एकताले वाम आन्दोलनमा उत्साह भने जगाउन सकेन । बरु, नेपाल कम्युनिष्ट पार्टीको बृहत ब्यानरमा जोडिएर सीमित नेताले तीन वर्ष सत्तामा ‘भोग’ गरे । सत्ता राजनीतिको जोडघटाउ र आन्तरिक दाउपेचका कारण एकताको तीन वर्ष पुग्दा नपुग्दै दुर्घटनामा परेको नेकपा फेरि ब्युँताउने बहसले यतिबेला वामवृत्तमा उत्साह छ ।
प्रधानमन्त्रीसमेत रहनुभएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले केही दिनअघि भक्तपुरमा आयोजित एक कार्यक्रमबाट एकैसाथ नेकपा ब्युँताउने घोषणा गरेपछि यसबारे विभिन्न टिप्पणी र विश्लेषण भइरहेका छन् । नेकपा जगाउने प्रचण्ड–माधवको उद्घोषलाई मूलतः दुई वटा तर्कका आधारमा व्याख्या, विश्लेषण गरिएको छ ।
प्रधानमन्त्रीले आफ्नो सत्ता सुरक्षाका लागि कांग्रेसलाई दबाबमा राख्न समाजवादी मोर्चा हुँदै नेकपा ब्युँताउने कुरा अघि सार्नुभएको धेरैले अनुमान गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको सिंगापुर भ्रमणका क्रममा भएको भनिएको गोप्य भेटघाट र त्यतिबेलै बजेट फेल गराएर सरकार ढाल्ने तहमा कांग्रेस र एमालेका एकथरी नेताले यहाँ गरेको भनिएको भित्री छलफलसँग यसलाई जोडेर हेरिएको छ । भलै, त्यसले ठोस आकार लिन भने सकेन । त्यसमा पार्टी जोगाउने माधवको चाहना र पुस १० गते आफ्नै समर्थनमा प्रधानमन्त्री बन्नुभएका प्रचण्डले लगत्तै कित्ता फेरेपछि कर्नरमा परेको एमालेको सत्तामा फर्किने रणनीतिलाई पनि गाँसेर हेर्नुपर्ने हुन्छ ।
अर्कोतिर, विभाजनले कमजोर बनेको वाम आन्दोलनलाई पुनः एकताबद्ध गराउन विगतदेखि नै लागिरहेको तीनवटै पार्टीभित्रको एउटा पंक्ति अहिले पनि त्यसैमा क्रियाशील छ, भनिन्छ । कांग्रेससँगको चुनावी सहकार्य नफापेपछि माओवादीमा वाम सहकार्यको पक्षमा झिनै भए पनि बहस चलिरहेकै छ । रवि, बालेन र हर्कहरूको उदयले शहरी क्षेत्रमा क्रमशः गुम्दै गएको प्रभावका कारण असुरक्षित महसुस गरेको एमालेभित्र पनि ठूलो पंक्ति नेकपा ब्युँताउनुपर्छ भन्नेमा देखिन्छ । नेता–कार्यकर्ता धमाधम पुरानै घर फर्किन थालेपछि आत्तिएको समाजवादीलाई कतै जोडिनुपर्ने बाध्यता छ । त्यसकारण बाहिर जे–जे भने पनि नेकपा ब्युँताउनु तीन वटै पार्टीको अनिवार्य बाध्यता हो ।
तर अहिले नै नेकपा ब्युँतिने सम्भावना भने देखिँदैन । किनभने प्रचण्ड, ओली र माधवबीच अविश्वासको खाडल निकै गहिरो छ । पछिल्लो घटनाकै कुरा गर्दा एकातिर एकताको कुरा चलिरहेको छ, अर्कोतिर सरकार ढाल्ने खेल पनि निरन्तर जारी छ । कोशी प्रदेशमा माओवादीले समर्थन झिकेपछि एमालेले सरकारको नेतृत्व गुमाएको छ । त्यहाँ कांग्रेसलाई मुख्यमन्त्री दिन प्रचण्ड र माधवले देउवासँग सहमति गरिसक्नुभएको छ । कोशी सरकार ढलेको तात्तातो पीडामा रहेको एमाले अहिले नेकपा ब्युँताउन तयार हुने कल्पना गर्नु आफैँमा मूर्खता हुन्छ । जबकि एमाले सहभागी नहुँदासम्म नेकपा पूर्ण हुँदैन ।
यता, माओवादी र समाजवादीका नेताहरू भने केपी ओली सच्चिने शर्तमा एकताको कुरा भएको दाबी गर्छन् । ‘अहिलेसम्म ठोस कुराकानी भएको छैन तर एमाले नमिसिएसम्म नेकपा ब्युँतिने कुरा पनि हुँदैन’, माओवादीका एक नेताले भने । प्रचण्ड र माधवले पनि ओली सच्चिएको अवस्थामा नेकपामा फर्किने भनेको उनले अर्थ लगाए । तर, ७० वर्षे उमेर हद हटाएर पुनः नेतृत्वमा दोहोरिन तम्तयार हुनुभएका ओली भने रियलाइज गर्ने तहमा अझै पुगिसकेको देखिँदैन ।
एमालेमा दबाब सिर्जना गर्न प्रचण्डले योजनाबद्ध ढंगले नेकपा जगाउने बहस बाहिर ल्याएको ठान्नेहरू पनि छन् । तर, एमालेमा केपीसँग पांैठेजोरी खेल्न सक्ने नेता अहिलेसम्म देखिएको छैन । तथापि, अनौपचारिक कुराकानीमा अधिकांशको चाहना नेकपा ब्युँतिए हुन्थ्यो भन्ने देखिन्छ । पार्टीभित्रको बहसमा अध्यक्षको चाहना प्रतिकूल बोल्न नसक्ने धेरै नेता अनौपचारिक कुराकानीमा भने ओली र प्रचण्डको जुँगाको लडाइँले छँदाखाँदाको पार्टी फुटेको दुखेसो गर्छन् । केपीपछि एमाले सम्हाल्न जुर्मुराएर बसेका ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेलहरू पनि ७० वर्षे उमेर हद निलम्बनमा परेपछि हच्किएका छन् । माओवादी र समाजवादीसँग मिल्नै हुँदैन भन्ने लाइनका नेताहरूसमेत बाँचुञ्जेल केपी नै हुने हो भने प्रचण्ड र माधव हुँदा पो के हुन्छ र ! भन्ने तहमा असन्तुष्ट रहेको भनिँदै छ । त्यो मनोविज्ञानले पनि एकता पक्षधरहरूलाई उत्साहित पारेको विश्लेषण गरिएको छ ।
देवराज घिमिरेलाई सभामुख दिएर सुवासलाई हार्ने राष्ट्रपतिमा अघि सारेको गुनासो अझै सुनिँदै छ । सुवासले त्यसताका निकटहरूसँग भन्नुहुन्थ्यो, ‘पार्टीमा मेरो योग्यता अयोग्यता भयो, अरुको अयोग्यता पनि योग्यता भएको छ । ‘वास्तवमा यसमा सुवास नेम्वाङको मात्र नभई सुवासहरूको पीडा झल्किन्छ । त्यतिबेला केपीले सुवासको ठाउँमा विष्णु रिमाललाई राष्ट्रपतिको उम्मेदवार बनाउन खोजेपछि प्रचण्ड बिच्किएको चर्चा थियो । सुवासले निकटहरूलाई भनेको कुराले पनि त्यस्तै बुझिन्थ्यो । ‘म संविधान, कानुन छाड्दिनँ, अरु संविधान कानुन जान्दिनँ, तपाईंले जे भन्नुहुन्छ त्यही गर्न तयार छु भन्छन्, अनि कहाँ हुन्छ ?’ त्यसताका भेट्न आउनेहरूसँग सुवास भन्ने गर्नुहुन्थ्यो ।
त्यसकारण पहिला कांग्रेसमा गिरिजाले जे सोच्छन् त्यही सर्कुलर भएजस्तै अहिले एमालेमा केपीले जे भन्नुहुन्छ त्यो नै पार्टीको निर्णय हुने गरेको छ । उहाँको आँखामा नपर्दा सुवासहरू सहिद बनिरहेका छन् । रघुजी पन्त र योगेश भट्टराईहरूको ध्याउन्न पनि अध्यक्षलाई खुशी पार्नेमै देखिन्छ । तर, उनीहरू पनि निकटहरूलाई बाध्यता सुनाउने गर्छन् – ओलीलाई जति गर्दा पनि सुधार्न सकिँदैन, यहाँबाट अन्त जाने ठाउँ पनि छैन । यो मनोविज्ञान पनि नेकपा फर्काउने बहसमा जोडिन्छ नै !
यता, उग्र स्वभावका नेता–कार्यकर्ता एमालेमा फर्किन थालेपछि माओवादीसँग मिल्नलाई एमाले फुटाएको प्रचार गरेर केपीले आफ्नो पार्टी रित्याइदिने खतरा देख्नुभएका माधवलाई ‘नेकपा फर्काउँछौँ’ भन्नुपर्ने बाध्यता छ । चुडामणि जंगलीजस्ता केपीको उग्र विरोधीहरू बालकोटमा लाइन लागेर टीका थाप्न थालेपछि माधवलाई नेकपा फर्काउने कुरा गर्नुपरेको हो ।
शान्ति प्रक्रियामा आएयता निरन्तर ओरालो यात्रामा रहेको माओवादी केन्द्रमा पनि त्यस्तै भद्रगोल देखिन्छ । हँसिया हथौडाबाट चुनाव लडेका बाबुराम भट्टराईसँगकै एकता अनिश्चित भएका बेला नेकपामा फर्किने प्रचण्डको कुरालाई धेरैले विश्वास गरेका छैनन् । एकातिर पूर्वमाओवादीको एकता गर्ने भनेर कृष्णबहादुर महरा नेतृत्वको समिति सक्रिय छ, सँगसँगै प्रचण्डले नेकपा ब्युँताउने कुरा गर्नुभएको छ । अध्यक्षको मौसमी अभिव्यक्तिले अन्योलमा परेका नेता–कार्यकर्तामा निराशा उस्तै देखिन्छ ।
टिप्पणीहरू