देउवाले सम्झाएपछि उपेन्द्र सहमत, त्यसपछि गठबन्धनमा एकमत
नेकपा एमालेले संसद अवरुद्ध नपारेको भए मीटरब्याजीमाथि कारबाही गर्न ऐन संशोधनका लागि सरकारले ल्याएको प्रतिस्थापन विधेयक गत बुधबार नै प्रतिनिधिसभाबाट पारित हुन्थ्यो । मुलुकी संहितासम्बन्धी केही ऐनलाई संशोधन गर्न पेश गरिएको उक्त विधेयक ६० दिनभित्र संसद्बाट पारित भइसक्नुपथ्र्यो । विधेयक पारित गर्ने तयारीका साथ बुधबार प्रतिनिधिसभामा कार्यसूची निर्धारण भएको थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै एमालेसहितका प्रतिपक्षी दलहरुले संसदमा नाराबाजी गरेपछि विधेयक पारित हुन सकेन ।
यस हिसाबले हेर्दा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको अवरोधका कारण विधेयक पारित नभएकोमा कुनै शंका नै छैन । तथापि सत्ता साझेदार पार्टीहरुमा समेत विधेयकबारे समान धारणा नरहेको अस्ति बसेको गठबन्धन दलका शीर्ष नेताहरुको बैठकमा खुलेको छ । गठबन्धन बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादवले भूतप्रभावी विधेयक ल्याउन नहुने अडान राखेर मीटरब्याज सम्बन्धी विधेयकको विपक्षमा आफूलाई उभ्याएको बैठक स्रोतले दाबी गरेको छ । त्यसो त, जसपाका सांसद प्रदीप यादवले प्रतिनिधिसभामै विधेयकको विरोधमा चर्कैसँग बोलेका थिए ।
अस्ति बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकअघि खासगरी प्रतिपक्षी दलहरुले प्रधानमन्त्रीको राजीनामा माग्दै गरेको संसद अवरोध र कोशी प्रदेशमा नयाँ सरकार गठनका सम्बन्धमा छलफल हुने बताइयो । बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष उपेन्द्र, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमतका अध्यक्ष सीके राउतलगायतका नेताहरु सहभागी थिए ।
मीटरब्याज सम्बन्धी अध्यादेश निस्क्रिय भएको अवस्थामा अर्को विधेयक लैजाने विषय पनि गठबन्धन बैठकमा छलफलको एजेण्डा बन्यो । लामो छलफलपछि सहमतिका साथ विधेयक दर्ता गर्ने बैठकले निर्णय पनि गरेको छ । तर, त्यसअघि जसपा अध्यक्ष यादवले भूतप्रभावी विधेयक ल्याउन नहुने भन्दै आफ्नो फरक धारणा राखेपछि प्रायः बैठकमा निकै कम बोल्ने काँग्रेस सभापति देउवाले समेत ‘कहाँ त्यस्तो हुन्छ ?’ भनेर विमति जनाउनुभएको थियो । मीटरब्याज भनेकै भूतप्रभावी हुने भएकाले विधेयक पास गर्नुपर्ने देउवाको मत थियो । त्यसक्रममा उहाँले आफ्नै शैलीमा भन्नुभयो, ‘सिराहातिरका महिलाहरुको कति दर्दनाक घटना थियो, त्यो हेर्नु पर्दैन ? त्यही कारण ऐन बनाउनुपरेको हो । बनाइएन भने शोषण रहिरहन्छ ।’ यसमा अरु नेताहरुले न समर्थनमा बोले न बिरोधमा ।
त्यसपछि प्रधानमन्त्रीको अभिव्यक्तिबारे बैठकमा कुरा शुरु भयो । त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले प्रितम सिंहसँगको आफ्नो पुरानो र पारिवारिक सम्बन्ध रहेको र सोही सन्दर्भमा पुस्तक विमोचन कार्यक्रममा विगत स्मरण गरेको कुरालाई तोडमोड गरिएको गुनासो गर्नुभयो । २०६८ सालतिर जेठी छोरी ज्ञानु दाहाललाई क्यान्सर भएर उपचारका लागि दिल्ली जाँदा प्रितमको घरमा बसेको र त्यसबेलादेखिकै पारिवारिक सम्बन्ध रहेकाले पुस्तक विमोचनमा आफू गएको प्रधानमन्त्रीले प्रष्ट्याउनुभएको थियो । प्रितम सिंहले त्यतिबेलै ‘तपाईं फेरि प्रधानमन्त्री बनेको हेर्ने चाहना छ’ भनेको कुरालाई आफूले पुस्तक विमोचन कार्यक्रममा ‘उहाँ यस्तो भन्नुहुन्थ्यो’ भनेर स्मरण गरेको पनि प्रधानमन्त्रीले बैठकमा सुनाउनुभएको थियो ।
त्यसपछि बैठकले प्रधानमन्त्रीको राजीनामा माग्ने प्रमुख प्रतिपक्षी दल एमालेको कदम असंसदीय ठहर मात्र गरेन, त्यसविरुद्ध एकताबद्ध भएर मुकाबिला गर्ने निर्णयसमेत गर्यो । प्रधानमन्त्री प्रचण्डले राजीनामा दिन नपर्ने निर्णय गरेर पक्षमा एकताबद्ध भएको बैठकमा एक नेताले ‘बोल्दा ध्यान पुर्याउन’ प्रचण्डलाई सुझावसमेत दिएका थिए । प्रधानमन्त्रीजस्तो मान्छेले भावनामा बगेर बोल्नु हुँदैन भन्ने टिप्पणी सुनेपछि प्रधानमन्त्रीले पनि ‘हो मेरो कमजोरी छ’ भनेर सहजै स्वीकार गरेको बैठक स्रोतले सुनायो ।
काँग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको त्यहि बैठकले विश्वासको मतका लागि राप्रपासँग छलफल गर्न प्रधानमन्त्री र देउवालाई जिम्मा दिएको छ । थापालाई मुख्यमन्त्री बनाउने निर्णय असार १८ गतेको बैठकले नै गरिसकेको थियो । तर, गठबन्धनको पक्षमा बहुमत नभएको र राप्रपाले थापालाई समर्थन नगर्ने भएपछि माओवादीका इन्द्र आङ्गबो र एकीकृत समाजवादीका राजेन्द्र राईले पनि मुख्यमन्त्रीमा दाबी गरेका थिए ।
तर, गठबन्धनमा काँग्रेसको संसदीय दल नै सबैभन्दा ठूलो रहेको र पार्टीको आन्तरिक राजनीतिसमेत मिलाउनुपर्ने सभापति देउवाको बाध्यतालाई दृष्टिगत गरेर गठबन्धनका अरु नेताहरुले आफ्नालाई ‘ब्याक’ गराएपछि सर्वसम्मतरुपमा थापाको पक्षमा सो निर्णय भएको हो । अहिले थापा मुख्यमन्त्री नियुक्त भइसकेका छन् ।
टिप्पणीहरू