रक्सी पिएर मध्यराति कार्यालय छिरेका जनप्रतिनिधिले कर्मचारी तर्साए, सुरक्षा माग्दै कर्मचारी सडकमा
बर्दियाको गेरुवा गाउँपालिका-५ का वडा सदस्य विरेन्द्रबहादुर शाहमाथि कारबाहीको माग गर्दै त्यहाँका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।
शाहले कार्यालय तोडफोड गर्दै आफूहरुलाई मार्ने धम्की दिएको भन्दै पालिकाका कर्मचारीहरु कामकाज रोकेर आन्दोलन थालेका हुन् । वडा सदस्य शाहमाथि हिजोराती पालिकामा कार्यरत कर्मचारीलाई धाकधम्की दिँदै मारिदिने चेतावनी दिएको आरोप छ ।
हिजो राति १२ बजेबाट आर्थिक वर्ष २०७९-८० को सम्पूर्ण भुक्तानी प्रक्रिया बन्द हुने भएकाले सेवाग्राहीको सहजताका लागि कार्यालयका अधिंकाश कर्मचारी आ-आफ्नो शाखामा काम गरिरहेका थिए । सोही क्रममा राति ११ बजेतिर शाहले मादक पदार्थ सेवन गरी सुनियोजित तरिकाले आर्थिक प्रशासन शाखामा मा प्रवेश गरी कर्मचारीहरुलाई अपशब्द प्रयोग गर्दै गालीगलौज गरी ज्यान मार्ने धम्की दिएको आरोप छ ।
‘असार २४ गते राति करिब ११ः०१ बजेको समयमा गेरुवा गाउँपालिका वडा नं. ५ का वडासदस्य विनोद शाह भन्ने विरेन्द्रबहादुर शाहले मादक पदार्थ सेवन गरी सुनियोजित तरिकाले आर्थिक प्रशासन शाखामा प्रवेश गरी कर्मचारीहरुलाई अपशब्द प्रयोग गर्दै गालीगलौज गरी ज्यान मार्ने धम्कीसहित आर्थिक प्रशासन शाखाको काउन्टरमा रहेको सिसा तोड्दै ‘ठकुरीको छोरो हो, मान्छे मारेर जेल जान्छु’ भनी कार्यालयमा तोडफोड गर्दा काम गरिरहेका कर्मचारीहरुलाई चोटपटक लागेको घटनाप्रति गेरुवा गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरु घोर भत्र्सना गर्दछौं,’ कर्मचारीहरुले निकालेको संयुक्त विज्ञप्तिमा भनिएको छ ।
जनप्रतिनिधि जस्तो सार्वजनिक पद धारण गरेका व्यक्तिले राष्ट्रसेवक कर्माचारीहरुप्रति गरेको व्यवहार अत्यन्त निन्दनीय भएको उल्लेख गर्दै शाहलाई कानूनबमोजिम हदैसम्मको कारबाही हुनुपर्ने माग कर्मचारीहरुले गरेका छन् ।
कारबाही नभएसम्म गेरुवा गाउँपालिका कार्यालयबाट सञ्चालन हुने सम्पूर्ण सेवाहरु स्थगित गरिने पनि संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
टिप्पणीहरू