बेथितिका चाङ, चेकको उराङ

बेथितिका चाङ, चेकको उराङ

प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार संसदमा निकै भावुक भएर दिवंगत छोरा र छोरीको प्रसंग निकाल्नु भयो । कुरा त्यतिखेरको रहेछ । एकजना सरदारसँग दोस्ती छ भन्दा नेकपा एमालेको उफ्रिपाफ्रीमा राप्रपा र रास्वपाले संसदमा मीठो लय मिलाएको त सुनियो तर व्यवहार ठ्याक्कै एमालेसँग मिल्ने भएकाले पछिल्लो समय उनीहरूको हरेक कदममा जनता पहिलाजस्तो ताली बजाउन तयार छैनन् । अझ रास्वपाका रवि लामिछानेमाथि पछिल्लो समय लाग्दै आएको पार्टी सदस्यका नाममा अकुत सम्पत्ति देखाउने होड र कतै सहकारीमा ५० लाख रुपैयाँ लिएर विवाह गरेको र उनैले खोलेको भनेर हल्ला गरिएको एउटा टेलिभिजनका साहुले ५ अर्ब रुपैयाँ जनताको सहकारीका नाममा गोलमाल गरेको प्रसंगले पहिलाजस्तो लामिछानेको क्रेज लिलाम बढाबढमा मोल तोकेर सुन्नेको कमी छ । आफ्नो अडियो पनि सिआइबीको घेरामा गयो भन्ने खबरपछि आक्रोशित भएका गोकुल बाँस्कोटा पनि कराउन थालेका छन् । ७० करोड काण्डले सार्वजनिक लेखा समितिको सभापति हुने आँट नगरेका नेताले संसदमा समय खपत गरेर युट्युब र टिकटकमा भद्दा मनोरञ्जन दिए पनि राजनीतिक चेतका हिसाबले जनता अरु चेतनशील भएको नेताहरूले बुझ्न बाँकी नै देखिन्छ ।

यो वर्ष ५० प्रतिशत पनि बजेट खर्च गर्न सकेनन् प्रदेश सरकारहरूले । संसद विनामुद्दा अवरुद्ध गर्न कुनै आइतबार कुर्न नपर्ने भएको छ । काठमाडौँमा पानी परेको खबर पुग्नेबित्तिकै प्रदेशमा छाता किन्न जाने एमालेमा रोग देखिएको छ । एउटा मन्त्रीले रकमान्तर गरेको विषयलाई लिएर एमालेले मधेश प्रदेश सभा अवरुद्ध गर्‍याे भने कोशी प्रदेश सरकार टिकाउन नसकेपछि बनेको नयाँ सरकार भत्काउन खोजिरहेको छ । यसको मतलब हो, जनताले प्रदेश टिक्दैन भनेर विरोधको स्वर ठूलो बनाइरहेका बेला कोशी प्रदेश सरकारलाई मध्यावधिमा धकेल्नु । एमाले यही चाहन्छ । प्रदेश हामीलाई नचाहिने विषय भनिरहेको रास्वपा प्रदेशमा पनि राप्रपा भन्दा बलियो देखिने लोभमा छ । प्रदेश खारेज गर्छाैँ भनेर निर्वाचनमा गएको राप्रपा प्रदेश सरकारमा एमालेकै लौरो भएको छ । कोशी प्रदेशमा मध्यावधिको प्रयास सफल भए एमाले नै प्रदेश खारेजकै मुद्दा लिएर राप्रपा र रास्वपासहित फेरि जनतामा जान तयार छ । 

उसो त केन्द्रमा पनि कांग्रेसका महामन्त्री उचालेर एमाले मध्यावधिको प्रयासमा लागेको अहिले होइन । बरु निर्वाचनमा कम्युनिष्टहरू मिलेर जाने प्रस्ताव ल्याउन एमालेललाई लाज हुने छैन । विगतमा पनि संसद विघटन गरेर निर्वाचनमा फेरि सहकार्य गरेर जाउँ भन्दै स्वयम् केपी ओलीले पुष्पकमल दाहाललाई गरेको प्रस्ताव जनताले बिर्सिसकेका छैनन् । माधवकुमार नेपाललगायतका सांसदहरूको पद खारेजको कुरा गरेर लामो समय बिताएको एमाले यतिखेर उपेन्द्र यादवलाई प्रधानमन्त्रीको किस्ती दिन लगातार लागे पनि असफल भएपछि कांग्रेस महामन्त्रीलाई उचाल्न थालेको कुरा मधेशले बुझ्दा कांग्रेसका युवा पुस्ताले नबुझ्नु दुःखद हो । तर मुख्य कुरा, परे समाजवादी पनि ४० प्रतिशत सांसद फुटाएर अर्काे पार्टी बनाइदिन्छौँ, आँट गर्नुहोस् भनेर पटकपटक उपेन्द्र यादवलाई एमालेले हालेको सोडाको हरक हराइसकेको छैन । स्वयम् यादव नै समाजवादी मोर्चामा सहभागी भएर पुष्पकमल दाहाल, माधवकुमार नेपाल, नेत्रविक्रम चन्दको सामुहिक क्याम्पमा ६ महिने अध्यक्षका लागि तयार भएपछि एमालेले कांग्रेसका महामन्त्रीलाई नयाँ घोडा बनाउन गरेको प्रयास हेरिएकै छ । देखिएकै छ । त्यो कति सफल होला ?

केही दिनअघि एउटा अन्तर्वार्तामा यता न उता तर सदावहार नेता वामदेव गौतमको कुरा सुनेको थिएँ । प्रस्तोताले एमालेको आरोपहरूलाई आफ्नो प्रश्न बनाउँदै जागिर खाइरहेको थियो । वामदेव गौतम भनिरहनुभएको थियो, ‘अहिले एमालेले कांग्रेस भत्काएर नयाँ सरकार बनाउन सक्छ तर त्यो सरकार बनेकै दिनदेखि भत्कन सुरु हुने भएकाले अन्ततः अहिलेकै सरकारमा दलहरू फर्कन पर्छ या त देश मध्यावधिमा जान्छ ।’ वामदेव गौतमले जति पनि नबुझेका कांग्रेसका दोस्रो पुस्ता नेताहरू न शेरबहादुर देउवाजसरी विद्रोह गरेर गिरिजाप्रसाद कोइरालासँग पार्टी फुटाएर हिँड्न सक्छन्, न पार्टीमा बहुमत पुर्‍याउर सत्ता कब्जा गर्न सक्छन् । वश एकाध पालितपोषित मिडियाकर्मीले ‘दाइ जयनेपाल’ भनेका भरमा देशलाई मध्यावधिको डिलसम्म पुर्‍याउन भने भाँती मिलाएर सभापतिको खेदो खनिरहेका छन् । पछिल्लो समय शेरबहादुर देउवा जति मौन बस्नुहुन्छ, त्यति नेपाली राजनीतिमा नयाँ तरंग आउँछ । पुष्पकमल दाहाल बोल्दा भन्दा शेरबहादुर देउवा नबोल्दा राजनीतिले कोर्स बदलिरहेको छ । 

निकै वर्ष अगाडिको कुरा हो, चितवनमा शेरबहादुर देउवा आउनुभयो । उहाँका सारथिहरू हुनुहुन्थ्यो विजयकुमार गच्छदार, मिनेन्द्र रिजाललगायतका नेताहरू । त्यतिखेर कांग्रेसमा नयाँ पुस्ताको माग थियो । पछि के भयो, विजयकुमार गच्छदार मधेशी दलको ललिपपमा जानु भयो । मिनेन्द्र रिजालले पनि देउवालाई छाड्नु भयो । राजनीति हो, सहकर्मीहरूलाई मौका दिनेमा देउवा कति लड्नुभयो होला कोइराला दाजुभाइसँग । तर सहयोद्धाहरू स्वर्ग हिँडेका युधिष्ठिरका भाइहरू बाटोमा मरे झैँ भए सकिँदै गए । तर अविराम यात्रामा देउवा कतै रोकिनु भएन । उनै देउवाले ‘केही नपाएका भनिएका’ रामचन्द्र पौडेललाई राष्ट्रपतिको पिताम्बर ओढाइदिनु भयो । अहिले राष्ट्रपति आफ्ना भावुक सचिवालयका कारण कहिले ‘हिरो’ हुनु भएको छ । कहिले आलोचनाको विषले निलाम्मे हुनुभएको छ । उहाँले कांग्रेसमा लागेर नपाएजस्तो त पक्क होइन, तर देउवा बनाउन र त्याग्न कति सक्नुहुन्छ भन्ने चैँ दशकौँ अघि चितवनमा देउवासँग भेटिएका गच्छदार र रिजाल हेरे पुग्छ । अहिले आफ्नै सहयोद्धा बालकृष्ण खाण जेल जाँदा पनि उहाँको मौनता हेरे पुग्छ । स्वयम् आरजु देउवालेसमेत मञ्जु खाणसँग बोलचाल नभएको, मोइबाल नम्बर नभएको भनेर राजेन्द्र बानियाँहरूसँग गरेको सम्वाद जनताले कान्तिपुरको सन्दिप क्षेत्री शोजसरी हटाउन दबाब नदिएकाले युटु्युतिर जीवितै हुनुपर्छ । 

यो बीचमा एमाले अध्यक्ष ओलीले भन्नुभयो, ‘कांग्रेसका साथीहरू बोल्नै डराउनु हुन्छ ।’ हो, हतारिएर बोल्न जाँदा पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाएर त्यही संसदमा विघटन ठिक थियो भनिदिनुहुन्छ । सल्लाह नै नगरी कांग्रेसले राष्ट्रपतिमा सुबास नेम्बाङलाई सघाउँछ भनिदिनुहुन्छ । अनि गगन थापा बोलाएर ‘अघि बढ’ भनिदिनु हुन्छ, शेरबहादुर देउवा बोलाएर ‘तपाईं नै हो’ भनिदिनु हुन्छ । यो चरित्र देखेर सायद देउवा नबोली बस्नु भएको हुनसक्छ । एमाले अध्यक्षजस्तो पशुपति पुगेर क्षमापुजासमेत गर्न रुची देखाइरहनु भएको छैन । कम्तीमा कहिलेकहीँ पश्चात्ताप गर्दै मन्दिर धाउनु बुढ्यौलीमा कम्युनिष्ट भए पनि अन्यथा होइन भन्ने देखाइरहनु भएको छ । जहाँ पानीले सुन खिइन्छ, त्यहाँ उहाँ गएर क्षमापूजा गर्ने खबरले केही तोला सुन पनि भेटिन्छ । बोल्ने नै हो भने ओलीले भनेका सारा कुरा सुनाउन देउवा पनि सक्नुहुन्छ, उहाँको कुरा लैजाने मिडिया रवि लामिछानेसँग भन्दा कम होलान् र ? तर नबोलिनबोली सत्ताको आयु लम्ब्याएर ख्यालख्यालमै आफू प्रधानमन्त्री हुने दिन नजिक्याइरहेका देउवाबाट कम्तीमा अरुले पनि नबोल्दा पनि हुने ठाउँमा नबोले हुने हो । बेलाबेला ‘म त एमाले पो त’ भनेर सभामुख बोल्न थाल्नु हुन्छ । अनि संसदको एजेण्डा बन्छ, प्रधानमन्त्रीको सचिवालय कमजोर भयो । प्रधानमन्त्रीको सचिवालय काम नलाग्ने भए त प्रतिपक्षीलाई फाइदा पुग्ने हो सरल राजनीतिमा । यहाँ त राजीनमा मागेर संसद अवरुद्ध गरेर बहादुरी प्रदर्शनको होड देखिन्छ । 

समग्रमा राजनीति सुधारको बाटोमा छैन । विदेशबाट फर्किएकाहरूलाई ‘सुनभरिया’ बनाइएको छ । नेपालीलाई भुटानी शरणार्थी बनाउने काममा केपी ओलीले काँधमा बोकेका रामबहादुर थापा र टोपबहादुर रायमाझीको सचिवालय, परिवार कांग्रेस भन्दा हामी किन कम भन्दै स्पर्धा गरेर हिरासतमा छन् । बजेट कार्यान्वयनमा समस्या छ । विकास असारमा सीमित छ । असार तेस्रो साता चेकको उराङलाई विकास मान्नका लागि मधेश आन्दोलन, जनआन्दोलन भएजस्तो भएको छ । त्यही आन्दोलनको पृष्ठभूमिमा सत्तामा पुग्नेहरूले मधेशमा जनआन्दोलनका सहिदहरूलाई दिनु पर्ने एक लाख रुपैयाँ पनि पाइएन भन्दै फेरि ४० डिग्री तापक्रममा मधेश सरकार घेराउ भएका छन् । यी दृश्यहरूसँगै अरु कयौँ बदमासी बाहिर आउने तरखरमा छ । खेलकुदका नाममा २ सय ४५ भन्दा नेपाली युवालाई अष्ट्रेलिया पुर्‍याउने खेलोफड्कोमा को लागिरहेका छन्, यी सबै पहेलुहरू विस्तारै आउने नै छ । यो वर्ष राजनीतिमा उथलपुथल हुन्छ, कुनै ठूलो नेताको ज्यानै तलमाथि हुन्छ भन्ने ज्योतिष र सुन्ने हामी जीवितै भएको पनि चार वर्ष हुन थाल्यो । असार साउनमा बाढी आउँछ भन्न ज्योतिष चाहिँदैन । ज्योतिषको फट्याइँ जनतामा लैजान चैँ केही थान पत्रकार काफी छन् । जनता नेताहरू सुध्रिएको हेर्न आतुर छन्, नयाँ भनिएकाहरू पनि बिग्रन आतुर देखिएकै छ । सुधार कहाँबाट होला ? अपेक्षा गर्ने मात्र हो, आफैँ राजनीतिमा होमिनेहरू पनि त्यहाँ पुगेपछि ‘केही गर्न सकिएन, बहुमत भएन’ भन्दै सिके राउतजसरी ट्विटरमा रुनुबाहेक अरु केही गर्न नसक्ने सेटिङमा देश र जनतालाई पारिएको प्रष्टै छ । 

टिप्पणीहरू